बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट सहभागी भई पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । प्रदेश खेलकुद विकास परिषद्को १७ असोजमा हेटौंडामा बसेको २६ औँ विस्तारित बोर्ड बैठकले स्वर्ण, रजत र कांस्यपदक विजेता खेलाडीलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट २२ वटा खेलमा सहभागिता जनाउने, जिल्लास्तरबाट खेलाडी छनोट प्रक्रिया तत्काल सुरुगर्ने र छनोट भएका खेलाडीलाई तत्काल क्लोज क्याम्पमा राखेर प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिए । प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष एवं स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले खेलाडीको प्रोत्साहन र मनोबल बढाउन पुरस्कारको व्यवस्था गरिएको बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सुरक्षा कार्यविधिसमेत स्वीकृत भइसकेको जानकारी दिए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ । प्रतियोगितामा बागमती प्रदेशबाट खेलाडी र अफिसियल गरी ७८२ जनाको सहभागिता रहनेछ, जसमा ६५६ जना खेलाडी रहने परिषद्ले जनाएको छ । बैठकले हेटौंडा–६, गौरीटारमा सिन्थेटिक ट्रयाक निर्माण तथा ३ हजार दर्शक क्षमताको बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्ने निर्णयसमेत गरेको छ । बैठकमा राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, खेलाडी छनोट तथा प्रशिक्षण, सुरक्षा, व्यवस्थापन र प्रदेशको खेलकुद पूर्वाधार विकासका विषयमा छलफल भएको थियो ।

पालिका प्रेस
थप जानकारी