कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ ।
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा पर्ने हिन्दू तथा बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको ऋषेश्वर/छ्युमिग झ्याङछुपमा विशेष मेला लाग्ने गर्दछ । ठूलो एकादशीका रुपमा परिचित यस दिनको अवसरमा अघिल्लो दिन रातभर भक्तजनहरु दीप प्रज्वलनसहित जाग्राम बस्ने गर्दछन् । सोही परम्परा अनुसार यस वर्षको ३ मंसिर साँझबाटै भक्तजनहरु ऋषेश्वर परिसरमा जाग्राम बसेका छन् ।
यसैबीच ऋषेश्वर÷छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिले मेला/जात्रा अवधीभर मन्दिर तथा जात्रा लाग्ने स्थानमा माछामासु तथा मदिरा पूर्ण रुपमा खरिद, बिक्री तथा सेवनमा प्रतिबन्ध लगाएको छ । समितिले आर्थिक लेनदेन हुने कुनैपनि प्रकारको खेल खेलाउन र र खेल्न प्रतिबन्ध लगाएको क्षेत्र विकास समितिका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए ।

मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि क्षेत्र विकास समितिले आफ्ना स्वयंसेवकका साथै नेपाल प्रहरी, थाहा नगर प्रहरीलगायतलाई परिचालन गर्ने जनाएको छ । साथै स्थानीय संघसंस्था, क्लबहरु, टोल विकास संस्था लगायतको सहभागितामा मेलालाई व्यवस्थित र मर्यादित बनाउन सहकार्य गर्ने समितिले जनाएको छ ।
यसैबीच हरिबोधनी एकादशीका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको औषधिको गुणले युक्त तुलसीको विवाह गरिदिने प्रचलन रहेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझने भएकाले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्