मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको हो। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक ईभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनामा परेका यात्रु छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीस्थित घर फर्किँदै थिए। मकवानपुर प्रहरीका अनुसार गाडीमा सवार सबै यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त थिए।
दुर्घटनामा मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल, चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका २६ बर्षिय विकेश यादव, ३५ बर्षिय पुनम देवी यादव, ७ बर्षिया दीक्षा यादव, ५ बर्षिया दीपिका यादव, १० बर्षिया अनु कुमारी यादव, ३६ बर्षिय गुड्डु यादव, ३२ बर्षिया गायत्री देवी यादव, २६ बर्षिय रामदुलार यादव, २५ बर्षिय सुबोध यादव र १५ बर्षिय रोहन यादव रहेका छन्।
मृत्यु हुने अन्य तीनजनामा राकेश यादव, छोटु यादव र सुदेश यादव छन्। छोटु राकेशका साला हुन्। यस्तै दुर्घटनामा मृतक पुनम देवी यादव अवधेश यादवकी श्रीमती हुन् भने दीक्षा, दीपिका र अनु कुमारी यादव उनका छोरीहरु हुन्। गायत्री देवी गुड्डुकी श्रीमती हुन्।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। घाइते मुकेश यादव, सक्षम कुमार यादव र देवेन्द्र राय हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका हुन्।
दुर्घटनामा परी घाइते भएका ३० बर्षिय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रेफर गरिएको छ। ३१ बर्षका बेचु भन्ने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रेफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ।














































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्