स्थानीय तह चुनावमा उम्मेदवार छनोटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सात बुँदे निर्देशन जारी गरेको छ।
शुक्रबार रास्वपाको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने नेताका लागि निर्देशन जारी गरेका हुन्। आन्तरिक लोकतन्त्रको विश्वसनीयता, विधिको पालना, निष्पक्ष प्रक्रिया र संस्थागत जवाफदेहिताका लागि भन्दै निर्देशन जारी गरिएको उल्लेख छ।
निर्देशनमा रास्वपाको विधान, स्थापित कार्यविधि र आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन भनिएको छ।
त्यस्तै, आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या वा पद र शक्तिको दुरुपयोग गरी निर्वाचन प्रभावित गर्ने कार्य नगर्न सचेत गराइएको छ। आचारसंहिता तथा निर्देशनविपरीत सामाजिक सञ्जाल वा अन्य माध्यममा सामग्री प्रकाशित वा साझा गर्न नगर्न निर्देशन दिइएको छ।
‘पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लङ्घन गने जोसुकैलाई उल्लङ्घनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्छ,’ निर्देशनमा भनिएको छ।




























































प्रतिक्रिया दिनुहोस्