बागमती प्रदेश सरकारले एक हजार घरबारविहीनलाई बसोबासका लागि घर बनाइदिने भएको छ । प्रदेश सरकारले एक हजार घर बनाउन चालु आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन गरेको छ । एउटा घर निर्माणका लागि प्रदेश सरकारले चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आवासविहीन चेपाङलाई उक्त योजनामा समेट्ने प्रदेश सरकारले जनाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले राज्यको मूलधारबाट पछाडि परेका सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न प्रदेश सरकारले सुरक्षित आवास र जीविकोपार्जनको उचित प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–६, पोलाघारीस्थित विपन्न चेपाङ बस्तीको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री थापाले सीमान्तकृत नागरिकको पक्षमा सरकार रहेको बताए ।

एमाले मनहरी गाउँपालिका कमिटीद्वारा निर्माण गरिएका तीनवटा घर आवासविहीन चेपाङ परिवारलाई हस्तान्तरण गर्दै मुख्यमन्त्री थापाले प्रदेशमा रहेका अन्य विपन्न परिवारका लागि पनि सुरक्षित आवास निर्माण गर्न प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताए । उनले बस्तीका सबै आवासविहीनको यकिन लगत तत्काल संकलन गर्न साथमा रहेका जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशनसमेत दिए । बढ्दै गएको जाडो मौसमलाई मध्यनजर गर्दै मुख्यमन्त्री थापाले चेपाङ बस्तीमा न्यानो कपडा वितरण गरिने बताए ।

‘हाम्रो कार्यकालमा न्यानो कपडाको अभावमा कोही पनि चिसोले कठ्याङ्ग्र्रिन नपरोस्, कोही घरबारविहीन बन्नु नपरोस् र जीविकोपार्जनकै लागि कसैले बाध्य भएर विदेशिनु नपरोस् भन्ने हाम्रो संकल्प छ,’ मुख्यमन्त्री थापामगरले भने, ‘सीमान्तकृत चेपाङ समुदायको दिगो आयआर्जनका लागि बाख्राका पाठापाठी तथा कुखुराका चल्ला वितरण गर्ने विशेष अभियान सञ्चालन गरिनेछ ।’

अनुदानमा दिइने बाख्रा काटेर नखान आग्रह गर्दै मुख्यमन्त्री थापामगरले भने, ‘व्यावसायिक रूपमा पाल्नुपर्छ ।’ एमाले मनहरीद्वारा प्रतिघर करिब तीन लाख रुपैयाँको लागतमा निर्मित आवासविहीनका भवनहरू मानवहादुर चेपाङ, रविलाल चेपाङ र सूर्य चेपाङलाई मुख्यमन्त्री थापामगरले बिहीबार एक समारोहबीच हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएका भवनमा दुईवटा कोठा छन् ।

भवनको अभावमा उनीहरू स्याउले छाप्रोमा बस्दै आएका थिए । जनता आवास कार्यक्रमअन्तर्गत संघीय र प्रदेश सरकारले मकवानपुरका करिब आठ सय चेपाङलाई घर बनाएर हस्तान्तरण गरिसकेका छन् ।

पालिका प्रेस
थप जानकारी