नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत् बुधबार मकवानपुरका विभिन्न पालिकामा नयाँ नेतृत्व चयन भएको छ । पार्टीको पालिका निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगर पालिकासहित जिल्लाका विभिन्न पालिकामा निर्वाचन तथा सर्वसम्मत प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । हेटौंडा उपमहानगर पालिकाको सभापतिमा रामकृष्ण कोइराला निर्वाचित भएका छन् । कोइराला २ सय ८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कविन सांगामीले २ सय ७७ मत प्राप्त गरे ।

उपसभापतिमा कूलप्रसाद चौलागाईं ३ सय ७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कृष्णप्रसाद दुलालले २ सय ४१ मत प्राप्त गरे। महिला उपसभापतिमा गान्धी घलान, सचिवमा बिजय पुडासैनी र सहसचिवमा जितेन्द्र कर्माचार्य निर्बिरोध निर्वाचित भएका छन् । हेटौंडा–१ स्थित हिमालय दरबार पार्टी प्यालेसमा भएको मतदानमा ५ सय ८४ मत खसेको थियो । निर्वाचित भएपछि नगर सभापति कोइरालाले निर्वाचनमा हारजीत सामान्य प्रक्रिया भएको बताउँदै यसलाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा लिनुपर्ने बताए । उनले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गर्दै नगरमा कांग्रेसलाई थप बलियो बनाउन सबै पक्षसँग निरन्तर छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कोइराला, २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगर पालिका वडा नं. १६ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

यसैगरी, थाहा नगर पालिका कांग्रेस सभापतिमा राजेन्द्रभक्त श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । अधिवेशनले श्रेष्ठको नेतृत्वमा ४३ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो । श्रेष्ठ, थाहा नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष हुन् । थाहा नगरको उपसभापतिमा सुरेश लामिछाने र इन्दिरा गोपाली, सचिवमा विरुजुलाल थिङ, सहसचिवमा बिजय मल्ल तथा कोषाध्यक्षमा घनश्याम बलामी चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको रहनेछ ।

इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा सुमन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । पालिका अधिवेशनले श्रेष्ठको नेतृत्वमा २४ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सभापतिका लागि कृष्ण महर्जनको समेत दाबी रहेपनि सहमतिमार्फत् श्रेष्ठलाई सभापति चयन गरिएको हो । श्रेष्ठ वडा नम्बर २ का वडाध्यक्ष हुन् भने महर्जन वडा नम्बर ५ का पार्टी सभापति तथा तरुण दलका क्षेत्रीय अध्यक्ष हुन् । गाउँपालिकाको उपसभापतिमा वसन्ती लामा र सविना बलामी तथा सचिवमा कृष्ण महर्जन सर्वसम्मत चयन भएका छन् ।

कैलाश गाउँपालिकाको सभापतिमा उदासकुमार भोलन सर्वसम्मत निर्वाचित भएका छन् । गाउँपालिका अधिवेशनले भोलनको नेतृत्वमा २९ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सहमतिकै आधारमा सभापतिसहित पदाधिकारी तथा सदस्य चयन गरिएको जनाइएको छ ।

यस्तै, बागमती गाउँ पालिकाको सभापतिमा चोकबहादुर ठाडामगर सर्वसम्मत निर्वाचित भएका छन् । भीमफेदी गाउँपालिकाको सभापतिमा मित्रबन्धु सिंजाली सर्वसम्मत चयन भएका छन् । मकवानपुरगढी गाउँपालिका कांग्रेस सभापतिमा आकाशकुमार गोले चयन भएका छन् । मनहरी गाउँपालिकामा राजकुमार श्रेष्ठ, बकैया गाउँपालिकामा गोपालबहादुर न्यासुर र राक्सिराड्ड गाउँपालिकामा देव लामा निर्वाचित भएका छन् । नव निर्वाचित सभापतिहरु अधिकांश जनजाती रहेका छन् । १० मध्ये हेटौंडा बाहेक सबै पालिकाका सभापतिहरु जनजाती रहेका छन् ।

पालिका प्रेस
थप जानकारी