लवशेर विष्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रतिबद्ध, निष्ठावान र अनुभवी नेता हुन्। मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट २१ फागुनमा हुने निर्वाचनका लागि उनी उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। उनी थाहा नगरपालिकाका संस्थापक मेयरसमेत हुन्, जहाँ उनले पाँच वर्षे कार्यकालमा विकास, सुशासन र जनमुखी सेवाको अभ्यासमार्फत अलग पहिचान बनाएका थिए।
वि.सं. २०२८ साल जेठ १५ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, घर्तीखोलामा जन्मिएका विष्टको पारिवारिक पृष्ठभूमिले उनलाई मेहनत, इमानदारी र सामाजिक उत्तरदायित्वको मूल्य सिकाएको छ । उनका पिता बासुदेव विष्टबाट प्राप्त संस्कार र परिवारको निरन्तर समर्थनले उनी सामाजिक तथा राजनीतिक जीवनमा सन्तुलित र जिम्मेवार व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
बाल्यकालदेखि नै गाउँ–समुदायको जीवनशैली, संघर्ष र सामाजिक एकताको महत्व नजिकबाट अनुभूति गरेका विष्ट स्थानीय समाज र संस्कृतिसँग गहिरो रूपमा जोडिएका छन्। यही अनुभवले उनलाई जनताको वास्तविक समस्या बुझ्ने र समाधानतर्फ अग्रसर हुने नेताका रूपमा विकास गरेको छ।
थाहा नगरपालिकाको मेयर रहँदा उनले रूपचन्द्र विष्टको दर्शनलाई आत्मसात् गर्दै ‘थाहा शैली’ को विकास अवधारणालाई संस्थागत गर्न प्रयास गरे। विकास निर्माण, सेवा प्रवाह र पारदर्शितामा देखाएको कार्यशैलीका कारण उनी मकवानपुरको राजनीतिमा निष्ठावान र ‘बेदाग’ छवि भएका नेताका रूपमा चिनिन्छन् ।
राजनीतिसँगै निर्माण व्यवसाय तथा विभिन्न संघ–संस्थामा सक्रिय रहँदै आएका विष्ट मकवानपुरको उत्तरी क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व मानिन्छन्। विपन्न वर्ग, ग्रामीण समुदाय र स्थानीय विकासका मुद्दा उनका विशेष प्राथमिकता रहेका छन्। शैक्षिक रूपमा उनले रत्न राज्य क्याम्पसबाट आई.ए. तहसम्म अध्ययन गरेका छन् । सामाजिक विज्ञान, इतिहास र राजनीति विषयमा प्राप्त ज्ञानले उनलाई आलोचनात्मक सोच, संगठनात्मक क्षमता र नेतृत्व विकासमा मद्दत पु¥याएको छ। यसकै आधारमा उनी निर्वाचन क्षेत्रभित्र र बाहिर प्रभावकारी नेता बन्न सफल भएका छन्।
विष्ट पार्टीको नीति तथा सिद्धान्तअनुसार जनताको हक–अधिकार, सुशासन र सामाजिक न्यायको पक्षमा निरन्तर सक्रिय छन्। उनी नाराभन्दा काममा विश्वास गर्ने नेता भएको स्पष्ट रूपमा बताउँदै आएका छन्। “म बोलेर लोकप्रियता खोज्ने होइन, काम गरेर भरोसा जित्न चाहन्छु,” भन्ने उनको भनाइ जनजीविका, रोजगारी, विकास र सुशासनप्रतिको प्रतिबद्धताको प्रतिविम्ब हो।
२०७९ सालको निर्वाचनमा उनी कुनै पदमा उम्मेदवार नभए पनि, मेयर रहँदा देखाएको कार्यशैलीका कारण आज पनि जिल्लामा उनको चर्चा हुने गरेको छ। जेन–जी पुस्ताको भावना र चाहनालाई नेकपाले सही रूपमा प्रतिनिधित्व गर्ने विश्वास राख्दै उनले देशको समृद्ध नेतृत्व नेकपाले नै गर्ने दाबी गरेका छन्। आम नागरिकप्रतिको जिम्मेवारी निष्ठा र इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै लवशेर विष्ट अहिले पुनः जनताको विश्वास लिएर संसदीय यात्रातर्फ अग्रसर छन्।

















































पालिका प्रेस 


















प्रतिक्रिया दिनुहोस्