आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तयारीका निर्णय गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा १३ फागुनमा बसेको समितिको बैठकले निर्वाचन अवधिमा सम्भावित विपद् तथा आकस्मिक अवस्थालाई मध्यनजर गर्दै जिल्लाभर स्वास्थ्यसेवा प्रणालीलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचनको समयमा जिल्लाका सबै स्थानीय तहमा तत्काल परिचालन गर्न सकिने गरी साधन–स्रोतसहितको आपतकालीन स्वास्थ्य टोली तयारी अवस्थामा राख्न जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत् सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लाभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न समेत निर्देशन दिइने भएको छ । निर्वाचन अवधिलाई ध्यानमा राख्दै हेटौंडा अस्पताललाई आवश्यक साधन–स्रोतसहित तयारी अवस्थामा रहन र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन निर्णय गरिएको छ ।
जिल्लाभित्र सञ्चालनमा रहेका दमकल तथा एम्बुलेन्सहरुलाई जुनसुकै समयमा प्रयोग गर्न सकिने गरी पूर्णरुपमा चालु अवस्थामा राख्न सम्बन्धित निकायलाई पत्राचार गरिने भएको छ । निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै यो अवधिमा जिल्लाका सम्पूर्ण स्वास्थ्य जनशक्तिलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउन जनस्वास्थ्य कार्यालय मकवानपुर मार्फत सबै स्थानीय तह तथा स्वास्थ्य संस्थालाई निर्देशन पठाउने निर्णय गरिएको छ । विपद् व्यवस्थापन समिति अन्तर्गतका सबै निकाय तथा पदाधिकारीले निर्वाचन लक्षित सम्भावित विपद्जन्य घटनाको पूर्वतयारी, उद्दार तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाउने निर्णय भएको छ ।


















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्