काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ गते हुने मतदानका दिन एम्बुलेन्स, दमकल र प्रेससहितका अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै पनि अतिरिक्त अनुमति पत्र (पास) बिना नै सञ्चालन गर्न दिने भएको छ। आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मतदानका दिन सवारीसाधन सञ्चालनलाई व्यवस्थित बनाउन निश्चित प्रयोजनका लागि प्रयोग हुने सवारीलाई पास आवश्यक नपर्ने जनाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुसार दमकल, एम्बुलेन्स र शववाहन जस्ता आकस्मिक सेवाका सवारीसाधनलाई पास आवश्यक नपर्ने गरी व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरिएको छ। यसैगरी, खानेपानीका ट्यांकर, दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनका साथै दूरसञ्चार, विद्युत् र ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधनलाई पनि पास अनिवार्य गरिएको छैन।

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आउजाउ गर्न प्रयोग हुने सवारीसाधन तथा हवाई यात्रीलाई विमानस्थलदेखि होटल वा घरसम्म पुर्‍याउन प्रयोग हुने सवारीसाधनले पनि यो सुविधा पाउनेछन्। विशेष परिस्थितिमा रहेका नागरिक जस्तै: गर्भवती, सुत्केरी, बच्चा बोकेका महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त व्यक्ति र ज्येष्ठ नागरिक मतदाता तथा उनका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि पासबिना नै आवागमनको अनुमति दिइएको छ।

कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारीसाधन, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, राष्ट्रिय मानवअधिकार आयोगका सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि यस व्यवस्थाअन्तर्गत पर्नेछन्। यस्ता सवारीसाधनले असम्बन्धित व्यक्तिलाई बोक्न नपाउने पनि आयोगले स्पष्ट पारेको छ।

निर्वाचनका लागि सवारी पास व्यवस्थापन गर्न निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि सम्मिलित ‘एकीकृत आवागमन डेस्क’ आयोग परिसरमा स्थापना गरी काठमाडौँ, भक्तपुर र ललितपुरका लागि आवश्यक पास सोही स्थानबाट वितरण भइरहेको आयोगको भनाइ छ।