हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चौमासिकमा खानेपानी उत्पादन, वितरण तथा पूर्वाधार विस्तारका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । बोर्डले हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका ३० हजार १ सय ९१ निजी तथा संस्थागत धारामार्फत दैनिक करिब ३ करोड ७० लाख लिटर खानेपानी वितरण गर्दै आएको जनाएको छ ।
बोर्डले ११ मंसिरमा आयोजना गरेको पहिलो चौमासिक समीक्षा तथा पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मका अधिकांश क्षेत्रमा खानेपानी सेवा विस्तार गरिएको छ। वडा नम्बर १२ र १३ बाहेक अन्य वडामा सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ। वडा नम्बर १, ३, ११ र १९ का केही भूभाग तथा वडा नम्बर १५, १६, १७ र १८ का करिब ७५ प्रतिशत क्षेत्रमा सेवा विस्तार भएको छ। बोर्डको सेवा क्षेत्रभित्र करिब एक लाख ७० हजार जनसंख्या रहेको छ।
नेपाल खानेपानी संस्थानको हेटौंडा शाखाको सम्पत्ति तथा दायित्व २०७० जेठ ८ गते बोर्डमा हस्तान्तरण भएपछि बोर्डले खानेपानी उत्पादन, प्रशोधन, भण्डारण, वितरण तथा मर्मतसम्भारको जिम्मेवारी निर्वाह गर्दै आएको छ। बोर्डका अनुसार हाल एक सतही मुहान, ४० वटा भूमिगत डिप ट्युबवेल, १८ वटा समवेल र ५ हजार ५०२ घनमिटर क्षमताका पानी भण्डारण संरचना सञ्चालनमा छन्। मुख्य तथा शाखा पाइपलाइनको लम्बाइ ८१४ किलोमिटर पुगेको छ ।

पहिलो चौमासिकमा पूर्वाधार निर्माण तथा सेवा विस्तारका कामलाई पनि निरन्तरता दिइएको बोर्डले जनाएको छ। विभिन्न स्थानमा करिब १० किलोमिटर पाइपलाइन सुधार तथा विस्तार, सडक विस्तारका क्रममा प्रभावित क्षेत्रमा करिब ८ किलोमिटर पाइपलाइन विस्तार र सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक स्थलमा करिब ६ किलोमिटर पाइप उपलब्ध गराइएको छ। यस अवधिमा आधुनिक पानी परीक्षण प्रयोगशालाबाट ३०० वटा नमुना परीक्षण गरिएको छ।
२५ करोड ९५ लाखको बजेट, आम्दानी २७ प्रतिशत
बोर्डले चालु आर्थिक वर्षका लागि २५ करोड ९५ लाख ८० हजार रुपैयाँको अनुमानित आयव्यय बजेट स्वीकृत गरेको छ । पहिलो चौमासिकसम्म कुल ७ करोड ६ लाख ६ हजार रुपैयाँ आम्दानी भएको छ। यो कुल अनुमानित आम्दानीको २७.२० प्रतिशत हो। उक्त रकममा अघिल्लो आर्थिक वर्षको राजस्व मौज्दातसमेत समावेश छ ।

चालु आर्थिक वर्षको आन्तरिक आम्दानीतर्फ ५ करोड २६ लाख ३३ हजार रुपैयाँ संकलन भएको छ। यस अवधिमा पानी महसुलबापत ४ करोड ७९ लाख ८५ हजार रुपैयाँ संकलन भएको बोर्डले जनाएको छ ।
यस्तै, पहिलो चौमासिकमा कुल ४ करोड ७५ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजित बजेटको १८.३४ प्रतिशत हो। पुँजीगत खर्चतर्फ अपेक्षित प्रगति हुन नसकेकाले आगामी चौमासिकमा पाइपलाइन विस्तार, पुराना संरचनाको सुधार, पानी उत्पादन तथा वितरण प्रणालीको सुदृढीकरण र सहलगानीका आयोजना कार्यान्वयनलाई प्राथमिकता दिने बोर्डको योजना छ।
सडक तथा पूर्वाधार निर्माण खानेपानी व्यवस्थापनको चुनौती
बोर्डले खानेपानी व्यवस्थापनमा भोग्नुपरेका प्रमुख समस्यामध्ये सडक विस्तार, कालोपत्रे, ढल तथा नाला निर्माणलाई चुनौतीका रूपमा औँल्याएको छ। विभिन्न सरकारी निकाय र विकास आयोजनाबीच पर्याप्त समन्वय नहुँदा एउटै सडक पटकपटक खन्नुपर्ने, पुराना पाइपलाइनमा क्षति पुग्ने र मर्मतसम्भारमा अतिरिक्त आर्थिक भार पर्ने समस्या रहेको बोर्डले जनाएको छ ।

त्यसैगरी, विकास निर्माणका कामअघि खानेपानी पाइपलाइनको अवस्थाबारे प्राविधिक मूल्यांकन नहुनु, क्षतिग्रस्त संरचनाको मर्मत खर्च कसले व्यहोर्ने भन्ने स्पष्ट नहुनु, खानेपानीका स्रोत संरक्षण तथा वैकल्पिक स्रोत व्यवस्थापनमा चुनौती रहनु र विद्युत् तथा सञ्चालन खर्च बढ्दै जानु पनि बोर्डका प्रमुख समस्या हुन्। बोर्डले यी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकार तथा विकास आयोजना कार्यान्वयन गर्ने निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
सडक निर्माणअघि खानेपानीका पूर्वाधारको अवस्था मूल्यांकन गर्ने, क्षति भए सम्बन्धित निर्माण पक्षबाटै मर्मत खर्च व्यहोर्ने व्यवस्था गर्ने र दीर्घकालीन खानेपानी गुरुयोजना कार्यान्वयन गर्ने लक्ष्यसमेत अघि सारेको छ।
३८ करोडको सहलगानी आयोजना अघि बढ्दै
हेटौंडाको खानेपानी सेवा विस्तार र दिगो व्यवस्थापनका लागि संघीय सरकार र बोर्डको सहलगानीमा विभिन्न आयोजना सञ्चालन भइरहेका छन्। सिमलटार, हटिया र रातोमाटे खानेपानी तथा सरसफाइ आयोजना पहिलो चरणअन्तर्गत करिब २० करोड रुपैयाँ लागतको निर्माण कार्यमा ८० प्रतिशत भौतिक प्रगति भएको बोर्डले जनाएको छ।

यसैगरी, दोस्रो चरणअन्तर्गत ३८ करोड ९१ लाख २७ हजार रुपैयाँ लागतको आयोजना अघि बढाइएको छ। उक्त आयोजनामार्फत हेटौंडाका विभिन्न वडामा समवेल, डिप ट्युबवेल, पानी भण्डारण ट्यांकी, प्रशोधन केन्द्र, पाइपलाइन विस्तार तथा कार्यालय भवन निर्माणका काम गरिनेछ। बोर्डका अध्यक्ष प्रताप विष्टले दिगो खानेपानी व्यवस्थापनका लागि स्रोत संरक्षण, सुरक्षित पूर्वाधार निर्माण, आर्थिक आत्मनिर्भरता र संस्थागत सुशासनलाई प्राथमिकतामा राखिएको बताए। उनले बढ्दो सहरीकरण र खानेपानीको मागलाई सम्बोधन गर्न उत्पादन क्षमता तथा वितरण प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथि तथा उपप्रमुख राजेश बानियाँ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ तथा सञ्चारकर्मीको सहभागिता थियो। बोर्डले आगामी दिनमा खानेपानीका नयाँ स्रोत पहिचान तथा संरक्षण, पुराना पाइपलाइन प्रतिस्थापन, चुहावट नियन्त्रण, पानीको गुणस्तर परीक्षण, सेवा क्षेत्र विस्तार र उपभोक्तामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्