वि.सं. २०७९ सालमा निर्वाचित पालिका प्रतिनीधिको कार्यकाल सकिने र नयाँ पालिका चुनाव नजिकिदै गर्दा उमेद्वारको साथै मतदाता संख्याको पनि चर्चा हुन थालेको छ । बागमती प्रदेश राजधानी रहेको जिल्ला समेत रहेको मकवानपुरका १० वटै स्थानीय तहमा अहिले राजनीतिक दलहरुको आ–आफ्नै सत्रmियता छ । सबै दलहरु अहिले स्थानीय तह अर्थात पालिका चुनाव केन्द्रित भइरहेका छन् ।

त्यसोतः २०७९ सालको पालिका चुनावको तुलनामा मकवानपुरमा मतदाता संख्या पनि थपिएका छन् । निर्वाचन आयोगले २०८३ को १५ भाद्रसम्मको प्रकाशित अन्तिम मतदाता नामावली अनुसार पनि मकवानपुरमा २०७९ को तुलनामा २२ हजार ५ सय १६ मतदाता थपिएका छन् । वि.सं. २०७९ को पालिका चुनावका लागि अन्तिम मतदाता नामावलीमा मकवानपुरका सबै स्थानीइ तहका गरी २ लाख ९४ हजार ९ सय १९ थियो । अहिले यो संख्या बढेर ३ लाख १७ हजार ४ सय ३५ पुगेको छ ।

पालिका अनुसारको मतदाता संख्या हेर्ने हो भनेपनि जिल्लाकै सबैभन्दा सानो पालिका इन्द्रसरोवर गाउँपालिकामा १ सय ५२ मतदाता घटेको छ भने अरु ९ वटै स्थानीय तहमा मतदाता संख्या बढेको छ । इन्द्रसरोवरमा २०७९ मा १२ हजार ४७१ थियो भने अहिले घटेर १२ हजार ३१९ मा सिमित भएको छ । जिल्लामा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकामा मतदाता संख्या बढेको छ । हेटौंडामा वि.संं २०७९ मा १ लाख ४ हजार ४७३ रहेकोमा अहिले यो संख्या बढेर १ लाख १७ हजार ७०१ पुगेको छ अर्थात १३ हजार २२८ बढेको छ । मनहरीको २६ हजार ७२१ मा २ हजार ४७६ थप भई अहिले २९ हजार १९७ पुगेको छ ।

त्यस्तै, थाहा नगरपालिकामा वि.संं २०७९ मा ३२ हजार ३०७ मतदाता रहेकोमा २ हजार १७७ थप भई ३४ हजार ४८४ मतदाता पुगेको छ । कैलाशमा १४ हजार ५८६ मा १ हजार ४८९ थप भई १६ हजार ७५ मतदाता पुगेको छ । बकैया गाउँपालिकामा २९ ९४३ मतदाता रहेकोमा ९८८ थप भई ३० हजार ९३१ पुगेको छ । बागमतीमा २२ हजार ४० मतदाता रहेकमोमा ४५८ थप भई २२ हजार ४९८ पुगेको निर्वाचन आयोगले जनाएको छ ।

भीमफेदी गाउँपालिकामा १७ हजार ४२८ ।रहेकोमा ५३२ मतदाता थप भई १७ हजार ९६० पुगेको छ । मकवानपुरगढी गाउँपालिकामा वि.सं. २०७९ मा १९ हजार ११८ मतदाता रहेकोमा ९७८ थप भई २० हजार ९६ पुगेको छ । राक्सिराङ गाउँपालिकामा १५ हजार ८३२ मतदाता रहेकोमा ३४२ थप भई १६ हजार १७४ जना मतदाता संख्या पुगेको निर्वाचन आयोगले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

मकवानपुरमा १ सय ६७ मतदान स्थल

निर्वाचन आयोगले पछिल्लो पटक प्रकाशन गरेको विवरण अनुसार मकवानपुर जिल्लाभर १ सय ६७ मतदान स्थल कायम रहेको जनाएको छ । आयोगका अनुसार सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकामा २७ वटा र सबैभन्दा कम इन्द्रसरोवर र मनहरी गाउँपालिकामा सबैभन्दा कम ११÷११ वटा मतदान स्थल रहेका छन् ।

आयोगका अनुसार मकवानपुरको थाहा नगरपालिकामा २१, कैलाश गाउँपालिकामा १६, बकैयामा २०, बागमतीमा १६, भीमफेदीमा १४ वटा र राक्सिराङमा १९ वटा मतदानस्थल तोकिएका छन् ।

यसैबीच मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सिफारिस समिति मकवानपुरको २० कार्तिकमा बैठक बसिसकेको छ । बैठकमा पालिकाको प्रमुख तथा अध्यक्षहरुको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकमा नजिकिदै गरेको पालिका चुनावको विषयमा समेत छलफल भएको थियो ।

२०७९ को समिकरण कस्ने, कस्ले बाजी मारेका थिए ?

तत्कालिने नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र तत्कालिन नेकपा एकीकृत समाजवादीको गठबन्धन भई भएको मकवानपुरको स्थानीय तहमा पाटीका उमेद्वारहरु चुनावमा भाग लिएका थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा मकवानपुरको १० स्थानीय तह मध्ये सबैभन्दा सानो पालिका इन्द्रसरोवरमा नेकपा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मतसहित विजयी भएका थिए भने उपविजेता भएका नेपाली काँग्रेसका विश्वलाल लामाले ३ हजार ४७२ मत पाएका थिए । पालिका उपाध्यक्षमा एमालेकै उमा कुमारी लामा ३ हजार ७२५ मतसहित विजयी हुँदा काँग्रेसका निर्मल रुम्बा ३ हजार ६५६ मतसहित उपविजेता भएका थिए ।

कैलाश गाउँपालिकामा लोक बहादुर मुक्तान ४ हजार ८९७ मतसहित विजयी हुँदा एमालेका नरेन्द्रलाल रिजाल ४ हजार ९३ मतसहित उपविजेता भएका थिए । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बालकुमार बल्ल ठकुरी ४ हजार ८८ मतसहित विजयी हुँदा ३ हजार ९३५ मतसहित एमालेका सुकुमायाँ थिङ उपविजेता भएकी थिइन् ।

थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट ९ हजार ७१९ मतसहित विजयी हुँदा एमालेका अच्युतम प्रसाद ढकाल ७ हजार ७७१ मतसहित उपविजेता भए भने उपप्रमुखमा ८ हजार ६०७ मतसहित नेपाली काँग्रेसका भरत गोपाली निर्वाचित हुँदा एमालेकी कल्पना बलामी ८ हजार ५२२ मतसहित उपविजेता भएकी थिइन् । जिल्लाको बकैया गाउँपालिकामा नेपाली काँग्रेसका धर्मराज लामिछाने ११ हजार २९२ मतसहित विजयी हुँदा एमालेकी सरला बोलखे ७ हजार ६६ मतसहित उपविजेता भइन् । उपाध्यक्ष पदमा माओवादीका भक्त बहादुर खत्री ९ हजार ५२२ मतसहित विजयी हुँदा एमालेका लाल बहादुर स्याङ्तान ७ हजार ६५२ मतसहित उपविजेता भए ।

बागमती गाउँपालिकामा माओवादीका सर्केश घलान ७ हजवार ३८४ मतसहित विजयी हुँदा एमालेका खेमराज जर्घामगर ६ हजार १६६ मतसहित उपविजेता भए भने उपाध्यक्षमा नेपाली काँग्रेसका फणिन्द्र कुमार तिमल्सीना ७ हजार ९३५ मतसहित निर्वाचित हुँदा एमालेकी धनमायाँ स्याङ्तान ४ हजार ६६९ मतसहित उपविजेता भइन् ।

भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा ५ हजार ५९१ मतसहित विजयी हुँदा उपविजेतामा माओवादीका बद्री बहादुर स्याङ्तानले ५ हजार २०९ मत पाएका थिए । उपाध्यक्षमा नेपाली काँग्रेसबाट संजिब श्रेष्ठले ५ हजार ३१५ मतसहित विजयी हुँदा एमालेकी पार्वती लामाले ५ हजार २९९ मत प्राप्त गरेकी थिइन् । मकवानपुरगढीको अध्यक्षमा काँग्रेसका दोर्जे लामा स्याङ्तान ६ हजार ७०६ मतसहित विजयी हुँदा एमालेका विदुर हुमागाई ५ हजार ६४५ मगतसहित उपविजेता भए । पालिका उपाध्यक्ष पदमा माओवादीकी मानकुमारी पाख्रिन (नेपाली) ६ हजार ११० मतसहित विजयी हुँदा एमालेकी सन्तु थिङले ५ हजार २०४ मत पाएकी थिइन् ।

मनहरी गाउँपालिकामा काँग्रेसका रन्जन कालाखेती ९ हजार ३६६ मतसहित विजयी हुँदा एमालेका एकराज उप्रेती ४ हजार ९७० मत पाएका थिए भने उपाध्यक्ष पदमा माओवादीकी सिता पुलामी मगरले ६ हजार ४७० मतसहित विजयी हुँदा एमालेकी सुजिता थिङले ५ हनामर ४५४ मत पाएकी थिइन् । राक्सिराङ गाउँपालिकामा नेपाली काँग्रेसका राजकुमार मल्ल ५ हजार ४८१ मतसहित विजयी हुँदा एमालेका बाबुलाल स्याङ्तान ४ हजार ५७२ मतसहित उपविजेता भए । उपाध्यक्ष पदमा माओवादीका बनस्तम थिङ ४ हजार ८३९ मतसहित विजयी हुँदा एमालेकी सुन्तली मायाँ प्रजा ४ हजार १२९ मतसहित उपविजेता भइन् ।

हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा २३ हजार ७५ मतसहित विजयी हुँदा एमालेका अनन्त प्रसाद पौडेल २० हजार ९०८ मतसहित उपविजेता भए । उपप्रमुखमा काँग्रेसका राजेश बानियाँ ३२ हजार ५९३ मतसहित विजयी हुँदा एमालेकी सुमित्रा काफल्ले २३ हजार ९०९ मतसहित उपविजेता भएकी थिइन् ।

पालिका प्रेस
थप जानकारी