हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध ऋषेश्वर मन्दिरमा १९ फिट अग्लो त्रिशुल राखिएको छ । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा जय दुर्गे काली सेवा केन्द्रले मन्दिरमा उक्त त्रिशूल स्थापना गरेको हो । उक्त मन्दिरमा हरिबोधनी एकादशीमा वृहत मेला लाग्ने गर्दछ ।
हरिबोधिनी एकादशी पर्वका अवसरमा मन्दिरमा लागेको भव्य मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन भएको ऋषेश्वर÷छ्युमिग झ्याङ्छुप क्षेत्र विकास समितिले जनाएको छ । मेलामा थाहा नगरपालिका सहित मकवानपुर, धादिङ, चितवन, काठमाडौं, बारा, पर्सा, काभ्रे तथा तिब्बतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन सहभागी भएको स्थानीय निरज रायमाझीले जानकारी दिए ।

मेलाको अवसरमा मन्दिर परिसरमा बाबियोको डोरीमा फूलपाती राखेर ‘फूल तार्ने’ भक्तजनहरुको समेत उल्लेख्य सहभागिता रहेको समितिले जनाएको छ । ऋषेश्वर महादेवको दर्शन गरे मनले चिताएको इच्छा पूरा हुने तथा सन्तान प्राप्तिको कामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । धार्मिक किंवदन्तीअनुसार पहराको बीचमा महादेवले त्रिशूल घोप्दा पानी निस्किएको विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीका आराध्यदेव ऋषेश्वर महादेवको मन्दिर रहेको यस क्षेत्रमा बौद्ध धर्मावलम्बीका गुरु रिम्पोछेले समेत तपस्या गरेको जनविश्वास छ ।
हिन्दु र बौद्ध दुवै समुदायका भक्तजनको साझा आस्थाको केन्द्रका रूपमा रहेको ऋषेश्वर क्षेत्रले धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र विकास समितिका अध्यक्ष विनोद लामाले जानकारी दिए ।

मेलालाई व्यवस्थित गर्नका लागि क्षेत्र विकास समितिले आफ्ना स्वयंसेवकका साथै नेपाल प्रहरी, थाहा नगर प्रहरीलगायतलाई परिचालन गरिएको थियो । साथै स्थानीय संघसंस्था, क्लबहरु, टोल विकास संस्था लगायतको सहभागितामा मेलालाई व्यवस्थित र मर्यादित बनाउन सहकार्य गरेको समितिले जनाएको छ ।















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्