नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हेटौंडाका राष्ट्रिय क्रिकेट खेलाडी रिजन ढकाल हेटौंडामा २ लाख २५ हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् । उनलाई हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र बालजागृति सेकेण्डरी ई. बोर्डिङ स्कुलले नगदसहित सम्मान गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाले ढकाललाई एक लाख रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

त्यस्तै, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सले एक लाख रुपैयाँ र बालजागृति सेकेण्डरी बोर्डिङ स्कुलले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । यसैगरी, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उनलाई सम्मानपत्र प्रदान गरेको छ । हेटौंडा–२ निवासी ढकालले एनपीएलको तेस्रो संस्करणम चितवन राइनोजबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभर १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको गोल्डेन क्याप जितेका थिए । उनी सर्वोत्कृष्ट नेपाली खेलाडी तथा समग्र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

प्रतियोगितामा सर्वाधिक विकेटकर्ताबापत उनले दुई लाख रुपैयाँ, उत्कृष्ट नेपाली खेलाडी बनेबापत ओमोडा कार र उत्कृष्ट बलर बनेबापत मोटरसाइकल प्राप्त गरेका थिए । सोमबार आयोजित सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले ढकालले हेटौंडाको गौरव बढाएको बताइन् । उनले उपमहानगरपालिकाले क्रिकेट लगायत विभिन्न खेलक्षेत्रको विकासका लागि लगानी गर्दै आएको जानकारी दिइन् ।

यसैगरी, हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा आयोजित विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा प्रिन्सिपल पुरनबहादुर जोशीले ढकाललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा ढकालले आफ्नो क्रिकेट यात्रा, संघर्ष र अनुभव विद्यार्थीसँग साझा गरेका थिए । बालजागृति सेकेण्डरी बोर्डिङ स्कुलले पनि विद्यालय परिसरमा आयोजित कार्यक्रममा २५ हजार रुपैयाँ र सम्मानपत्रसहित ढकाललाई सम्मान गरेको थियो । ढकालले २०७० सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको विद्यालयका प्रिन्सीपल बिनोद सुबेदीले बताए ।

हातेमालो सहकारीका सल्लाहकार राजु ढकालका छोरा तथा संस्थाका शेयर सदस्यसमेत रहेका रिजनलाई सहकारीले सम्मानपत्र प्रदान गरेको हो । सम्मानपछि ढकालले मेहनत र निरन्तरताले सफलता प्राप्तगर्न सकिने बताए । एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरमा पहिचान बनाउन सफल ढकाललाई स्थानीय तह, शैक्षिक संस्था र सहकारीक्षेत्रबाट सम्मान गरिएपछि हेटौंडामा उनको सफलताको चर्चा चुलिएको छ ।

पालिका प्रेस
थप जानकारी