मकवानपुरका दुवै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भूमिहीन तथा अव्यवस्थित बसोबास र मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्नु परेका समस्या साझा मुद्दाका रूपमा उठान भएका छन् । गाउँमा भोट माग्दै घरदैलोमा आउने उम्मेदवारसँग दुवै क्षेत्रका बासिन्दाले घर र उपभोग गरिरहेको जमिनको पुर्जा उपलब्ध गराइदिन माग गर्ने गरिरहेका छन् ।
चितवन र पर्सा निकुन्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दाले वन्यजन्तुबाट भोग्नु परेका समस्या समाधानका लागि अनुरोध गरिरहेका छन् । मकवानपुर–१ र २ मा भूमिहीन, अव्यवस्थित बसोबासी र मध्यवर्ती क्षेत्रका समस्या यसपटकको निर्वाचनमा साझा मुद्दाका रूपमा उठेका हुन् । लामो समयदेखि यस्ता समस्या झेल्दै आए पनि उनीहरूका समस्या सुनुवाइ भएका छैनन् । त्यसैले यसपटक मतदाताले आश्वासनको साटो छिटो लालपुर्जा दिन दबाब दिइरहेका छन् । विभिन्न उम्मेदवारले पनि तत्काल माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

‘५० वर्षदेखि यहाँ बस्दै आएका छौं,’ बकैया–२, धियालका ५९ वर्षीय चन्द्रबहादुर मोक्तानले भने, ‘२०३२ सालमा नापी गरेको जग्गाको अहिलेसम्म लालपुर्जा मिलेको छैन, प्रत्येक पल्ट भोट माग्न आउँदा लालपुर्जा दिलाउँछु भन्छन्, तर लालपुर्जा हात पर्दैन ।’ करिब दुई सय वर्ष पुरानो फापरबारी बजारका बासिन्दा अहिलेसम्म जग्गाधनी पुर्जाविहीन छन् ।

बागमती—६ स्थित फापरबारी बजार स्थानीयको मात्र होइन, ललितपुर, काभ्रे, सिन्धुली र रौतहटका बासिन्दाको किनमेल गर्ने पुरानो थलो हो । त्यहाँ बसोबास गर्ने दुई सयभन्दा बढी परिवारका नाममा जग्गाधनी पुर्जा छैन । ‘चुनाव आएपछि पुर्जा दिन्छु भन्छन्, भोट लिन्छन् र फर्किंदैनन्,’ फापरबारीका व्यापारी चिजकुमार श्रेष्ठले भने, ‘हामीलाई चुनावका बेलामा उम्मेदवारले आश्वासनमात्र दिने गरेका छन् ।’ यसपटक पनि जिल्लास्थित सबै दलका उम्मेदवार भोट माग्न आएर विगतका जस्तै आश्वासन बाँडिरहेको उनले बताए ।

मकवानपुर–१ अन्तर्गतको बकैया र बागमती गाउँपालिकाका अधिकांश बस्ती लालपुर्जाविहीन छन् । ५० वर्षदेखि बसोबास रहेको र जमिन खनजोत गर्दै आए पनि स्वामित्व नरहेको स्थानीय बताउँछन् । त्यहाँका घरमा बिजुली र आँगनमा पानीको धारा पुगेको छ । आँगनअगाडि सडक ढलान गरिएको छ । तर, घर र जग्गाको लालपुर्जा नरहेको बागमती–४, राईबस्तीका ७६ वर्षीय सन्तमान राईले भने, ‘हातमा पुर्जा नपरेरै मरिने भइयो ।’ लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएर चुनाव जितेपछि जनप्रतिनिधि फर्किएर गाउँमै नआउने धियाल कालापानीका दीपक स्याङ्तानले बताए । ‘वर्षायाममा गाउँमा बाढीपहिरो र चट्याङले त्यत्तिकै सताउँछ,’ उनले भने, ‘जितेर गएका नेताले अहिलेसम्म हाम्रो पीडा सुनेनन् ।’

बकैयाको दक्षिणी भेगमा पर्ने उक्त बस्तीमा वर्षायाममा चुरेबाट उर्लिने खहरेले पालिकास्थित हात्तिसुँढे, जुरेली र छतिवन बजारमा आउजाउ गर्न समस्या हुन्छ । चुनावप्रति उक्त बस्तीका बासिन्दा उत्साहित छैनन् । ‘जसलाई जिताए पनि हाम्रो अवस्था र समस्या जस्ताका तस्तै छन्,’ थाकलचौरका ५९ वर्षीय पूर्णबहादुर लामाले भने, ‘आफू बसेको घर र जग्गाको लालपुर्जा पाउन पनि सकिएन, न बाटोघाटो नै बन्यो ।’ २०२९ सालबाट उनी थाकलचौरमा बस्दै आएका हुन् । अहिलेसम्म उनले लालपुर्जा पाउन सकेका छैनन् । बकैया–२ स्थित तीन भङगाले, केराघारी, ट्याङट्याङ, सरस्वती, दोभान, कालापानी, थाकलचौरका बासिन्दाले अहिलेसम्म पुर्जा पाउन सकेका छैनन् ।

तामाङ समुदायको बसोबास रहेको उक्त वडाका विभिन्न बस्तीमा ४ सय ५४ घरधुरी बसोबास छ । तीमध्ये ५१ जनाको मात्र घर र जग्गाको पुर्जा छ । ४ सय ३ परिवारसित घर जमिनको स्वामित्व छैन । उक्त क्षेत्रमा २०२१ सालदेखि बसोबास गर्दै आएका सर्वसाधारण छन् । गाउँपालिकाको केन्द्रमा पुग्न ५ घन्टा पैदल हिँड्न पर्छ । भौतिकशास्त्रीले लामो अध्ययनपश्चात् उक्त क्षेत्रमा युरेनियम खानी रहेको सार्वजनिक गरेका छन् ।

चुरे फेदीमा रहेको गाउँ बस्तीमा सोमबारसम्म केही उम्मेदवार भोट माग्न पुगेका छन् । भोट माग्न आउने उम्मेदवार समक्ष पुर्जा र गाउँका समस्या राखेको स्थानीय दिलबहादुर वाइवाले बताए । ‘जसले हाम्रो समस्या समाधान गर्छ जस्तो लाग्छ, त्यसैलाई मतदान गर्ने हो,’ उनले भने ।

मकवानपुर–२ मा पनि यस्तै समस्या छ । हेटौंडा उपमहानगर–११, सिमलटारका हजारौं परिवार पुर्जाविहीन छन् । हेटौंडाको राप्ती खोलाको पुल नजिकको उक्त बस्तीमा झुप्रादेखि ४ तले पक्की घर निर्माण भइसकेका छन् । करिब ३ हजार घरधुरी रहेको सिमलटारमा विद्युत्, खानेपानी र सडक सुविधा पुगेको छ । बाक्लो बस्ती छ । पहिले पनि उम्मेदवारले उक्त बस्तीलाई ‘भोट बैंक’का रूपमा प्रयोग गरेका थिए । तर, अहिलेसम्म उनीहरूले घर र जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । उक्त बस्तीमा भोट माग्न पुगेका कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, प्रलोपा, नेकपा माओवादी लगायत दलका उम्मेदवारलाई भूमि अधिकार मञ्चको अगुवाईमा स्थानीय बासिन्दाले लालपुर्जा उपलब्ध गराइदिन ज्ञापन पत्र वुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै उम्मेदवारले आफूले निर्वाचनमा जित/हार जे भोगे पनि बस्तीको पुर्जाको समस्या समाधान गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भूमि अधिकार मञ्च नगर कमिटीका अध्यक्ष गोविन्द न्यौपानेले भने, ‘यहाँ भोट माग्न आएका अधिकांश उम्मेदवारलाई लालपुर्जाको माग गर्दै ज्ञापनपत्र बुझाइयो, उनीहरूले लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।’ मकवानपुरका १० वटा पालिकामा सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या ३५ हजारभन्दा बढी छ । ३० हजार घरधुरीले जग्गाधनी पुर्जाको माग गर्दै भूमि समस्या समाधान आयोगमा निवेदन दिएका छन् ।

‘मकवानपुरमा सुकम्वासी र अव्यवस्थित बसोबासीको समस्या जटिल छ,’ जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष बलराम बलले भने, ‘समस्या समाधानका निम्ति काम गर्न थाल्यो कि आयोग नै खारेज गरिन्छ, कहिले सरकार परिवर्तन हुने बित्तिकै आयोग नै फेरिन्छ, यस्तो अवस्थामा कसरी काम टुंगोमा पु¥याउने ?’ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मध्यवर्ती क्षेत्रका बासिन्दा पनि चर्को समस्यामा छन् । मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दाले निकुन्जले दिने पीडा सहन नसकेर मध्यवर्ती क्षेत्रबाट मुक्त हुनका लागि माग गर्दै आएका छन् ।

मनहरी गाउँपालिकाका केही वडा र हेटौंडा उपमहानगरका केही वडाका बस्तीहरू मध्यवर्ती क्षेत्रमा पर्छन् । मध्यवर्तीका बासिन्दाले गाउँकै विकास निर्माण काम गर्न होस् वा व्यक्तिगत पूर्वाधारको काम गर्न निकुन्जसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी