यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिमसँगै नियुक्तिपत्र समेत दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धी प्रशिक्षण दिइएको हो ।
जिल्लाका तीन सय ७४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्नेलगायत विषयमा तालिम दिइरहेको निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । अतिदुर्गम भेगका मतदान केन्द्रमा फागुन १७ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई निर्वाचन सामग्री, मतपत्र, मतपेटीका, सुरक्षा टोलीसहित पठाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताइन् । मतदान प्रक्रियालाई प्रभावकारी, व्यवस्थित र त्रुटिरहित बनाउन प्रयोगात्मक अभ्याससहित तालिम सञ्चालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिएका छन् । निर्वाचनको तयारी अन्तर्गत १८ फागुनसम्म जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैबीच निर्वाचनको अनुगमनका लागि प्रजिअ अधिकारीले ४ जना अनुगमन अधिकृत नियुक्त गरेका छन् । उनीहरुले निर्वाचन तयारी, कर्मचारी व्यवस्थापन तथा मतदान केन्द्रको अवस्थाबारे निरन्तर निगरानी गर्नेछन् । मकवानपुरका ८ वटा मतदान केन्द्रका लागि मतपेटिका भने अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको धियालस्थित ३ वटा मतदान केन्द्रका मतपेटिका रौतहट र बाराबाट ल्याउनुपर्ने अवस्था रहेको छ । राक्सिराङ गाउँपालिकाको काँकडा क्षेत्रका ५ वटा मतदान केन्द्रका मतपेटिका चितवनको भण्डाराबाट ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यस सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको प्रजिअ अधिकारीले बताए ।
४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदानस्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदानस्थल र १९६ वटा मतदान केन्द्र छन् । यी मतदान केन्द्र बाहेक जिल्लाको पूर्वसदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौंडामा अस्थायी मतदान केन्द्र रहने भएको छ । कतिवटा मतदान केन्द्र रहने भन्ने निर्णय प्रक्रियामा रहेको प्रदेश निर्वाचन अधिकारी हरि प्रसाद ढकालले बताए ।
मकवानपुरमा कुल मतदाता तीन लाख १५ हजार ३३४ कायम भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता छन् । उनले निर्वाचनका लागि मसी, मतपेटिका लगायतका ५२ प्रकारका सामग्री पर्ने भन्दै केही सामग्री कार्यालयमा रहेको र कतिपय सामान आयोगबाट आउने क्रममा रहेको बताएका छन् । दुवै क्षेत्रमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख १५ हजार ३३५ मतदाता रहेका छन् ।


















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्