दुई दशकदेखि जातीय विभेदविरूद्ध लड्दै आएकी हेटौंडा उपमहानगरपालिका–२ की पवित्रा विश्वकर्मा (विक)लाई कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनाएको छ । उनले ५ चैत्रमा प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फबाट निर्वाचित भएको प्रमाणपत्र बुझेकी छन् । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा समानुपातिकतर्फबाट प्रनितिधिसभा सदस्य बन्ने शौभाग्य उनले मात्र पाएकी छन् । ५ जेठ २०३४ मा दाङको तत्कालिन हलुवार गाविस–१ मा जन्मेकी पवित्राको ८ कक्षा पढ्दै गर्दा १४ वर्षकै उमेर मागी विवाह भएको थियो ।
विवाहपश्चात पनि उनले पढाईलाई निरन्तरता दिइन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । विवाहपश्चात विक दम्पती २०४८ सालमा काठमाडौं गएर एक वर्षपछि फेरि हेटौंडा आएका हुन् । हेटौंडामा अहिले उनको स्थायी बसोबास छ । दलित महिला संघ (फेडो)मा २०५८ सालदेखि निरन्तर सक्रिय रहँदै आएकी पवित्रा २०६१ सालमा फेडो मकवानपुरको अध्यक्ष बनिन् ।
जातीय विभेदविरुद्ध र दलित महिलाहरूको घाउमा मलमपट्टी लगाउँदै दलित महिला अभियन्ता बनिन् । फेडो बागमती प्रदेशको अध्यक्षको जिम्मेवारीसमेत वहन गरेकी विकसँग समावेशी महिलाहरूको सन्जाल संकल्पको अध्यक्ष बन्दाका अनुभव समेत छ । २०६१ सालपछि कांग्रेसको भातृ संगठन नेपाल महिला संघ मकवानपुरको कोषाध्यक्ष जिम्मेवारी वहन गरिसकेकी पवित्रा नेपाल दलित संघको केन्द्रीय सदस्यसमेत बनिसकेकी छन् । उनी कांग्रेसको १४औं महाधिवेशनको महासमिति सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । विक यसअघि २०७४ को निर्वाचन पनि समानुपातिकतर्फको उम्मेदवार बनेकी थिइन् । ४८ वर्षीया विक त्यो बेला प्रतिनिधिसभाको सदस्य बन्ने अवसर पाइनन् ।
आफू दलित क्लस्टरबाट सांसद चुनिएको र सोही कारण दबिएका आवाजहरू बुलन्द गर्ने सोचाइ राखेको उनले सुनाइन् । कानुनको ठेलीमा मात्र होइन जातीय विभेदको अन्त्य व्यवहारमा नै उतार्नका लागि आफ्नोतर्फबाट अझ शसक्त रुपले पहलकदमी लिने बताइन् ।
बालविवाह भएको विगतको पीडालाई स्मरण गर्दै उनले भनिन्, ‘बालविवाह अझै पनि हाम्रो समाजमा व्याप्त छ । त्यसमा पनि दलित र आदिवासी जनजाति समुदायमा अधिक छ । यसलाई न्यूनिकरण गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछु ।’

















































पालिका प्रेस 





















प्रतिक्रिया दिनुहोस्