हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन गरिएको छ । प्रशासन कार्यालय मकवानपुरमा १० मंसिरमा बसेको कार्यालय प्रमुखहरुको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको नेतृत्वमा टिम फोर्स गरिएको हो । टास्क फोर्समा हेटौंडा उपमहानगर पालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण लगायत सम्बन्धित निकायका प्रतिनिधि सदस्य छन् ।
टास्क फोर्सले १० मंसिरबाटै माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै रहनेछ । सडक विस्तारका क्रममा विद्युत, खानेपानी, टेलिफोन लगायत सेवामा समस्या नआओस् भनेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । टास्क फोर्सले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत सडकसीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनामा रेखांकन गर्ने, रंग लगाउने तथा आवश्यक कारबाही अघि बढाउने लगायत कार्य गर्ने प्रजिअ अधिकारीले बताए ।
प्रमुख जिल्ला अधिकारीले प्रदेश राजधानी भएका कारण बस्न योग्य सहर बनाउन सडक विस्तार अपरिहार्य रहेको बताए । एसियाली विकास बैंक (एडिबी) बाट स्रोत सुनिश्चित भइसकेकाले अब यो कार्य रोकिन नहुने उनको भनाई रहेको छ । सुन्दर सहर निर्माणको अभियानमा सबै सकारात्मक भएर सहभागी बन्न उनले आग्रह गरे । सडक सीमाक्षेत्रभित्र पर्ने घरधनीहरु स्वयम्ले संरचना हटाइदिए सडक विस्तार सहज हुनेमा प्रमुख जिल्ला अधिकारीको अपेक्षा रहेको छ ।
सबैलाई जीतको अनुभूति हुनेगरी काम अघि बढाइने उनले बताएका छन् । लामो समयदेखि सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको सडक विस्तारकार्य यसपटक भने अघि बढ्ने निश्चित भएको छ


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्