
मकवानपुरको पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । ५ चैत्र बिहान ८ बजेदेखि निर्वाचन गराउन निर्वाचन अधिकृतले सम्पूर्ण तयारी गरे पनि निर्वाचन स्थगित भएको छ । अनेरास्ववियु र नेपाल विद्यार्थी संघले निर्वाचनको पूर्व सन्ध्यामै बिहान ६ बजे निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि स्थिती फरक बन्न पुगेको थियो ।
५ चैत्र दिनभर जस्तै केही विद्यार्थी क्याम्पस परिसरमा र केही बाहिरै हुँदा मूलगेटमा प्रहरी र विद्यार्थी ठेलमठेल भएको थियो । अवस्था असहज बनेपछि विद्यार्थीहरु सुरक्षाकर्मीलाई प्रतिवाद गर्दै गेट भित्र पसेका थिए । उनीहरुले क्याम्पस प्रशासन र निर्वाचन समिति विरुद्ध नाराबाजी समेत गरेका थिए । तोकिएकै मितिमा निर्वाचन गराउन दिएको दबाब पनि असफल भएको छ ।
क्याम्पसले अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित गरेको सूचना जारी गरेको छ । अवस्था असहज भएको भन्दै निर्वाचन समितिले पनि राजिनामा दिएको छ । निर्वाचन संयोजक कुमार नेगी, सदस्य हरिकृष्ण कार्की र मीना महर्जनले संयुक्त रुपमा राजिनामा दिएका हुन् । निर्वाचन गराउन चार दलका नगरस्तरीइ नेताहरुबीच छलफल भएपनि निष्कर्ष बिहिन भएको थियो ।
७२ जना मतदाता रहेको क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ । अनेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुबिना खत्री अध्यक्ष पदका उम्मेदवारी दिएका छन् । क्याम्पसले सूचना जारी गर्दै निर्वाचन गराउन धेरै कसरत गरे पनि सफल नभएको ५ चैत्र साँझ स्वीकार गरेको छ ।
यसैबीच पालुङ क्याम्पसले आफ्नो फेसबुक पेज मार्फत यहि चैत्र ६, ७ र ८ गते क्याम्पस बन्द हुने सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्