नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्लाङ–चन्द्रागिरि–थानकोट सडक (गणेशमान सिंह मार्ग)का लागि आवश्यक बजेट विनियोजनका लागि सरकारलाई गम्भीर रुपमा दबाब दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
योङ कम्युनिष्ट लिग (वाइसीएल) थाहानगरको दोस्रो नगर सम्मेलनका अवसरमा २४ कार्तिकमा आयोजित उद्घाटन तथा जनसभामा बोल्दै प्रचण्डले थाहानगरलाई काठमाण्डौं जोड्ने चित्लाङ–चन्द्रागिरि सडक स्तरीकरण र कालोपत्रे गर्न आवश्यक पहल गर्ने बताए । पहिले भन्दा अहिले सडकमा ग्राभेल गरेर केही सहज भैसकेको बताउँदै उनले सो सडक अहिले निकै राम्रो भएको बताएकाछन् । प्रचण्डले भने–‘ सडक कालोपत्रेका लागि मेरो दबाब र जनताको आवज यो सरकारले सुनेन भने म फेरि आउछु, म गर्छु ।’
पूर्वप्रधानमन्त्री प्रचण्ड २४ कार्तिकमा सोही बाटो भएर थाहानगर आएका थिए । प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका उनले वि.सं. २०५० सालको बाढीले पु¥याएको क्षतिको स्मरण गर्दै थाहा–२ फेदीगाउँ बस्ती बचाउका लागि आफ्नो ध्यान पुगेको प्रचण्डको भनाइ थियो । उनले इन्द्रायणी चौरको कबर्डहल, शीतभण्डार, डाँडाबास–दामगाडे–धादिङ सडक निर्माण प्रदेश सरकारको लगानीमा अघि बढि रहेको बताउँदै आफ्नै पाटी नेतृत्वको सरकार हुँदा शुरु गरिएका यस किसिमको विकास निर्माणका काम पूरा गरेरै छाड्ने बचन दिए ।
प्रचण्डले एकीकृत शहरी विकास कार्यक्रम अन्तर्गत थाहानगरको कुन्छाल कुलेखानी सडक स्तरीकरण, बसपार्क, थाहा पार्क निर्माण लगायतका कामले पूर्णता पाउने उल्लेख गरे । चित्लाङको मदन भण्डारी विश्वविद्यालयको शुरुवात भैसकेकोले यसले पनि यहाँको विकासका लागि टेवा पुगेको उल्लेख गरे ।
यसैबीच थाहानगर आइपुगेका प्रचण्डलाई थाहा नगरपालिका कार्यालयमा स्वागत गरिएको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, कर्मचारीहरु लगायतले पूर्वप्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन् । स्वागतसँगै नगर प्रमुख विष्टले प्रचण्डसमक्ष थाहा नगरपालिकाको विकासको अवस्था र चुनौतिहरुका बारेमा जानकारी गराएका थिए ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्