मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानी गढीमा नेपाली सेनाले सरसफाइ तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ। मध्य पृतना हेडक्वार्टरअन्तर्गतका विभिन्न युनिट तथा श्री गोरख बहादुर गणको मुख्य भूमिकामा गढी परिसरमा सरसफाइ गरिएको हो। कार्यक्रममा राष्ट्रिय झण्डा झण्डोत्तोलनसमेत गरिएको थियो।

झण्डोत्तोलन कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिकाका कर्मचारी, वडा नं ६ का प्रतिनिधि, मन्दिरका पुजारी, स्थानीयवासी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

राष्ट्र एकीकरणका क्रममा प्रयोग भएका तथा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला र पदमार्गको संरक्षण, सरसफाइ तथा मर्मतसम्भार गर्दै आएको नेपाली सेनाको अभियानअन्तर्गत चिसापानी गढीमा पनि कार्यक्रम गरिएको गोरख बहादुर गणका गणपति श्री रविन्द्रकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार अभियानको उद्देश्य ऐतिहासिक सम्पदाको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धन र सैनिक–नागरिक सम्बन्धलाई थप सुदृढ गर्नु हो।

गणपति श्रेष्ठका अनुसार गोरख बहादुर गणले मकवानपुरका ऐतिहासिक गढीहरूको संरक्षणमा विभिन्न कार्यक्रम गर्दै आएको छ। हालसम्म धुंगे गढीमा ५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की तथा कलात्मक धारा निर्माण गर्नुका साथै मकवानपुर गढी र सानो गढीमा सरसफाइ तथा चिसापानी गढीमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षणसँगै त्यस्ता स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको अभियानले मकवानपुरका ऐतिहासिक सम्पदाको संरक्षणमा समेत योगदान पु¥याएको छ।

पालिका प्रेस
थप जानकारी