मकवानपुरको बागमती गाउँपालिका–३ स्थित तीनभंगाले माझीटोल–घट्टेदमार जोड्ने झोलुड्डे पुलको शिलान्यास गरिएको छ । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले पुलको शिलान्यास गरेका हुन् । पुल निर्माण भएपछि वर्खायाममा आवत–जावतमा हुँदै आएको समस्या समाधान हुनुका साथै ८५ भन्दा बढी घरधुरी लाभान्वित हुने जनाइएको छ ।
२१३ दशमलव ८ मिटर लामो पुल निर्माणका लागि दुई करोड ४६ लाख ७९ हजार रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण व्यवसायी दावा कन्स्ट्रक्सन, दोलखासँग दुई करोड चार लाख ९२ हजार रुपैयाँमा निर्माण सम्झौता भएको छ । २०८३ जेठ २६ गते सम्झौता भएको पुल २०८५ जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । पुलको शिलान्यास गर्दै प्रदेशसभा सदस्य पुलामीले गाउँ– गाउँमा विकासका पूर्वाधार विस्तार हुँदै गएको बताएका छन् । पुल नहुँदा स्थानीयले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने उल्लेख गर्दै उनले निर्धारित समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
बागमती गाउँपालिका–३ का वडाध्यक्ष कमानसिंह पाख्रिनले पुल निर्माण भएपछि वर्षायाममा स्थानीयले भोग्दै आएको समस्या अन्त्य हुने बताए । पुल निर्माणपछि पुलवारि र पारिका ८५ भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने उनले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले पुल गुणस्तरीयरुपमा निर्धारित समयभित्र निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । उनले पुल निर्माणमा स्थानीयवासीले पनि आफ्नो घरको संरचनाजस्तै अपनत्व लिएर निर्माणकार्यको निगरानी गर्नुपर्ने बताएका छन् ।
शिलान्यास कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीयअधिकृत ओम दर्जी, पूर्ववडाध्यक्ष बलबहादुर पाख्रिन, गाउँपालिका सदस्य भगवती माझी, वडासदस्य रतनबहादुर बज्यू र तुलबहादुर मुक्तान, बागमती खेलकुद विकास समितिका उपाध्यक्ष वीरबहादुर थिङ, इन्जिनियर दिनेश बानियाँ तथा निर्माण कम्पनीका दावा लामा शेर्पालगायतको सहभागिता थियो ।
















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्