मकवानपुरको मनहरी गाउँपालिका–६ अन्तर्गत पर्ने रुपाचुरी बस्ती आज पनि आधारभूत पूर्वाधारको अभावमा कष्टकर जीवन बिताउन बाध्य छ । देश विकासका ठूलाठूला योजना र उपलब्धिहरूको चर्चा भइरहँदा, यहाँका स्थानीयहरू भने अझै पानी र सडक जस्ता सामान्य आवश्यकताका लागि दैनिक संघर्ष गरिरहेका छन्।
रुपाचुरीका बासिन्दाका लागि बजार पुग्नु सामान्य कुरा होइन, एक कठिन यात्राजस्तै बनेको छ । मनहरी बजार पुग्न दुई घण्टाभन्दा बढी समय हिँड्नुपर्छ । बर्खायाम सुरु भएपछि अवस्था अझ भयावह बन्छ—हिलाम्मे बाटो, पहिरोको जोखिम, र सवारी साधन पूर्ण रूपमा ठप्प। ३१ वर्षीया सबिता बल भन्छिन्, “हिउँदमा अटो चल्छ, तर बर्खामा बिरामी परे बोकेरै अस्पताल लैजानुपर्छ।” उनका शब्दहरूमा केवल गुनासो होइन, पीडाको गहिरो अनुभूति झल्किन्छ ।
खानेपानीको समस्या यहाँको सबैभन्दा जटिल चुनौती बनेको छ। घरघरमा धारा जडान भए पनि पानी नआउने अवस्था वर्षौंदेखि उस्तै छ। बाध्य भएर स्थानीयहरू कुवाको फोहोर पानी प्रयोग गर्न विवश छन्। ४३ वर्षीया अमृता प्रजा भन्छिन्, “कुवाको पानी हेर्दा नै खान मन लाग्दैन, तर त्यही पिउनुपर्छ।” चैत–बैशाख लागेपछि कुवा सुक्न थाल्छ, जसले दैनिक जीवनलाई झनै कठिन बनाउँछ। पानीकै अभावले सरसफाइ, पशुपालन र सामान्य जीवनयापनसम्म प्रभावित भएको छ।
यस अभावको प्रत्यक्ष असर कृषिमा पनि देखिन्छ। पानी नहुँदा अधिकांश किसान मकै र कोदो जस्ता सुख्खा सहन सक्ने बालीमा सीमित छन्। ३३ वर्षीया कृष्ण माया घलान भन्छिन्, “जमिन सुख्खा छ, अरू खेती गर्न सकिँदैन। काम खोज्न बाहिर जाउँ भने पनि सजिलो छैन।” न्यून आम्दानीले यहाँका परिवारहरूलाई दैनिक गुजारा चलाउनै कठिन बनाएको छ। शिक्षा क्षेत्रमा पनि रुपाचुरी पछि परेको छ। बालबालिकाहरूलाई विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ। अमृता प्रजाका छोराले कक्षा ९ मा पढ्न दैनिक पाँच घण्टा यात्रा गर्छन्। “कोठा भाडा तिर्न सकिँदैन, अटो भाडा महँगो छ,” उनी भन्छिन्। यस्तो अवस्थामा बालबालिकाको भविष्य पनि अनिश्चित देखिन्छ।
स्थानीय ठूली माया रुम्बाको कथा झन् मार्मिक छ। सात सन्तानकी आमा उनीसँग स्थायी आम्दानीको कुनै स्रोत छैन। “खेत राम्रो छैन, कमाउन जाने ठाउँ छैन,” उनी भन्छिन्। दैनिक ज्यालादारीबाट आएको थोरै आम्दानीले परिवार धान्न गाह्रो भएको उनको गुनासो छ। स्थानीय तहले समस्या समाधानका लागि प्रयास गरिरहेको दाबी गरे पनि, स्रोत र पहुँचको अभाव ठूलो चुनौती बनेको छ। मनहरी गाउँपालिका शिक्षा शाखाका प्रमुख प्रदीप पराजुलीले विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको बताए। वडा अध्यक्ष युवराज थपलियाले सीमित बजेटका कारण सडक निर्माणमा कठिनाइ भएको स्वीकार गरे। “पानीको ट्याङ्की बनाउने काम भइरहेको छ, तर दुर्गम भेग भएकाले ढुवानीमै समस्या छ,” उनले भने।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार खानेपानी र सडक समस्या समाधानका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ । “सीमित बजेटले मात्रै पुग्दैन, दीर्घकालीन योजना र थप स्रोत आवश्यक छ,” उनले बताए। रुपाचुरीका स्थानीयहरूको अपेक्षा अत्यन्तै सामान्य छ—सजिलो जीवनयापनका लागि पानी र सडक। तर, यी आधारभूत आवश्यकताबाट वञ्चित उनीहरूको जीवनले राज्यको पहुँच अझै पनि दुर्गम बस्तीहरूमा पुग्न नसकेको स्पष्ट संकेत दिन्छ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्