फाइल फोटो ।

काठमाडौंलाई मकवानपुर हुँदै हेटौँडासँग जोड्ने छोटो तथा महत्वपूर्ण थानकोट–चन्द्रागिरी–चित्लाङ सडकखण्ड आजदेखि दुई साताका लागि पूर्ण रूपमा बन्द गरिएको छ । सडक स्तरोन्नति तथा निर्माण कार्यका लागि आज जेठ १७ गतेदेखि ३० गतेसम्म सडकमा सवारी आवागमन रोकिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंले चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकालाई पत्राचार गर्दै पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडकखण्ड १४ दिनका लागि पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ ।

कार्यालयका अनुसार सडक सुधार, कटिङ, ढलान, नाली निर्माण तथा अन्य स्तरोन्नति कार्य तीव्र रूपमा सञ्चालन भइरहेका कारण निर्माणस्थलमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । निर्माण कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न तथा यात्रु र कामदारको सुरक्षालाई प्राथमिकता दिँदै अस्थायी रूपमा सडक बन्द गर्ने निर्णय गरिएको हो ।

काठमाडौंबाट मकवानपुर तथा हेटौँडातर्फ छोटो दूरीमा यात्रा गर्न सकिने भएकाले दैनिक सयौँ सवारीसाधन यो सडक प्रयोग गर्दै आएका छन् । तर, सडकको भौगोलिक अवस्था जटिल हुनु, साँघुरा घुम्ती, भीरयुक्त क्षेत्र तथा निर्माणाधीन खण्डमा सवारी सञ्चालन भइरहँदा निर्माण कार्य प्रभावित हुँदै आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

विशेषगरी सडक फराकिलो बनाउने, ढलान गर्ने तथा भारी निर्माण सामग्री ओसारपसार गर्ने क्रममा सवारी आवागमनले काममा अवरोध पुर्‍याएको कार्यालयको भनाइ छ । कतिपय स्थानमा सडकको एकतर्फी भाग मात्रै सञ्चालनयोग्य रहेकाले दुर्घटनाको जोखिम समेत बढेको जनाइएको छ । सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनियर सुवोधकुमार देवकोटाकाले सडक बन्द अवधिभर चित्लाङ हुँदै यात्रा गर्ने सवारीसाधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

पालिका प्रेस
थप जानकारी