विशेषज्ञ सेवा विस्तार भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा बिरामीको चाप बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या करिब चार हजारले बढेको छ ।

अस्पतालको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनमा ३६ हजार ४१४ जनाले सेवा लिएकामा चालु आर्थिक वर्षको सोही महिनामा ३८ हजार ४९९ जनाले सेवा लिएका छन् । त्यस्तै, गत वर्षको भदौमा ३६ हजार पाँच जनाले सेवा लिएकामा चालु आर्थिक वर्षको भदौमा ३७ हजार ९५१ जनाले सेवा लिएका छन् ।

अस्पतालमा बालरोग, स्त्री तथा प्रसूति, दन्त, छाला तथा यौनरोग, रेडियोलोजी, जनरल सर्जरी, नाक, कान, घाँटी, नशा तथा हाडजोर्नी, मनोरोग, न्युरो ओपिडी र मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा छन् । केही वर्षअघिसम्म अन्य अस्पतालमा बिरामी पठाउने अस्पतालका रूपमा चिनिएको हेटौँडामा अहिले विशेषज्ञ सेवा विस्तारसँगै बिरामीको आकर्षण बढेको अस्पतालले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनमा आकस्मिक कक्षबाट सात हजार ३०५ र बहिरङ्ग सेवा (ओपिडी) बाट ३१ हजार १९४ जनाले सेवा लिएका छन् । भदौमा आकस्मिक कक्षबाट सात हजार ९२९ र बहिरङ्ग सेवाबाट ३० हजार २२ जनाले उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा सुगर, छाला, डिप्रेसन र उच्च रक्तचापका बिरामी बढी आउने गरेका छन् । चालु आर्थिक वर्षको साउनमा २९१ र भदौमा ३६१ जना महिलाले अस्पतालमा प्रसूति सेवा लिएका छन् । त्यस्तै, साउनमा ६७३ जनाले सिटी स्क्यान र १५८ जनाले एमआरआई सेवा लिएका थिए । भदौमा सिटी स्क्यान सेवा लिनेको सङ्ख्या ५७६ र एमआरआई सेवा लिनेको सङ्ख्या १६५ रहेको अस्पतालले जनाएको छ । अस्पतालमा साना तथा ठूला गरी साउनमा ३८१ र भदौमा ४२५ जनाको शल्यक्रिया गरिएको छ । मनोरोगसम्बन्धी परामर्श सेवा साउनमा २४ र भदौमा २६ जनाले लिएका छन् ।

हेटौँडा अस्पतालले वैशाखदेखि प्रोस्टेट अर्थात् मुत्र रोगसम्बन्धी विशेषज्ञ उपचार सेवा पनि सुरु गरेको छ । अस्पतालका अनुसार वैशाखमा ८५, जेठमा ८८, असारमा १३६, साउनमा १४८ र भदौमा १२० जनाले उक्त सेवा लिएका छन् । मकवानपुरसहित बारा, पर्सा, सिन्धुली र रौतहटलगायत छिमेकी जिल्लाबाट पनि बिरामी उपचारका लागि आउने गरेका छन् ।

हाल ३१९ शय्या सञ्चालनमा रहेको अस्पतालमा विशेषज्ञ चिकित्सक र सेवा थपिँदै जाँदा बिरामीको चाप बढेको प्रमुख प्रशासकीय अधिकृत अमर अधिकारीले बताए । उनका अनुसार अस्पतालको नयाँ भवनमा चालु वर्ष २०० शय्या थप्ने योजना छ । त्यस्तै, हेटौँडा–१० स्थित टिसिएन क्षेत्रमा ३०० शय्याको विशिष्टीकृत अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको छ । बढ्दो बिरामीको चापलाई व्यवस्थापन गर्न आवश्यक पूर्वाधार र जनशक्ति थप्ने कामलाई तीव्रता दिइएको अधिकारीले बताए । सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी