नजिकिँदै गरेको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी बागमती प्रदेशको १० जिल्लाका ४६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । चाडपर्वको समयमा यात्रुको आवागमन बढ्ने भएकाले सहायता कक्ष स्थापना गरिने र दैनिक १२६ जना प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक बागमती प्रदेशको १० जिल्लामा चाडपर्व सुरक्षा योजना–२०८३ तयार गरी सुरक्षा व्यवस्था मिलाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्थाका लागि प्रदेशको १० जिल्लामा चार हजार ४९९ जना प्रहरी परिचालन गरिने भएको हो । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले सोमबार हेटौँडामा आयोजित कार्यक्रममा चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यालय सुरक्षाका लागि एक हजार ४६५ जना प्रहरी परिचालन गरिनेछ ।
राजमार्गमा ट्राफिक प्रहरीसहित चेकिङ तथा अनुगमनका लागि ५८ वटा ड्युटीमा २११ जना प्रहरी परिचालन गरिने योजना रहेको छ । त्यसैगरी ३१ स्थानमा आकस्मिक चेकिङ गरिने र त्यसका लागि १३८ जना प्रहरी परिचालन गरिने भएको छ । बजार अनुगमनका लागि १९ वटा ड्युटी परिचालन गरिनेछ । चाडपर्वको अवसरमा आयोजना हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमको सुरक्षाका लागि समेत आवश्यक सङ्ख्यामा प्रहरी परिचालन गरिने जनाइएको छ ।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । तिहारमा हुने आतसबाजी तथा पटका प्रयोगलाई नियन्त्रण गर्नसमेत आवश्यक तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुरक्षा योजनाको कार्यान्वयन तथा अनुगमनका लागि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, बागमती प्रदेश प्रहरी गण हेटौँडा र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेबाट प्रहरी परिचालन तथा अनुगमन गरिनेछ । आवश्यकताअनुसार प्रदेशबाट थप प्रहरी टोलीसमेत परिचालन गरिने प्रहरी नायव महानिरीक्षक रेग्मीले जानकारी दिए ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्