घरभित्रै र आसपासको जमिन चिरा परेपछि विस्थापित भएका मकवानपुरको बकैया गाउँपालिका–६ मोरङेधाप र ठूलो ज्यामिरेका १२ परिवार विद्यालयमा रात कटाइरहेका छन् । घरमा बस्न डर लागेपछि ६ घरधुरीका ३० जना नजिकैको शखेश्वरी आधारभूत विद्यालयमा रात काटिरहेका छन् भने बाँकी परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । जमिन चिराचिरा परेर घरसमेत ढल्किएपछि ५५ घरधुरी जोखिममा छन् ।
असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि जमिन चिराचिरा पर्नुका साथै कतिपय ठाउँमा भासिएको हो । दिउँसो पनि घरभित्र बस्न नसकेपछि विस्थापित परिवारले घरबाहिर चुलो बनाएर खाना पकाउने गरेका छन् । ‘घरभित्रको जमिन भासिएर चिरैचिरा परेको र घर नै ढल्केकाले घरभित्र छिर्न डर लाग्छ,’ गोपिनी विश्वकर्माले भनिन्, ‘घर नजिकको स्कुलमा गएर राति सुत्ने गरेका छौं ।’ विद्यालयकी प्रधानाध्यापक उमा भुषालका अनुसार ६ घरधुरीका ३० जना बेलुका खाना खाएपछि बालबच्चा च्यापेर विद्यालयमा सुत्न आउने गरेका छन् । ‘बाँकी ६ परिवार आफन्तकहाँ सुत्न जाने गरेका छन्,’ उनले भनिन् ।
जमिन भासिनुका साथै चिराचिरा परेकाले मोरङेधाप र ठूलो ज्यामिरेका ५५ घरधुरी उच्च जोखिममा रहेको वडाध्यक्ष फुलमान भ्लोनले बताए । ‘उच्च जोखिममा रहेका र घरमै बस्न नसक्ने परिवारलाई तत्कालै अन्यत्र स्थानान्तरण गर्नुपर्छ,’ उनले भने । तीन दिनको अविरल वर्षापछि करिब दुई वर्ग किलोमिटर क्षेत्रमा जमिन चिराचिरा परेको र कतिपय स्थानमा भासिएको छ । जमिन भासिने क्रम अझै रोकिएको छैन । ‘पानी परेको बेला जमिन भासिने र चिरा पर्ने क्रम अलि बढी थियो, अहिले अलि कम छ,’ वडाध्यक्ष भ्लोनले भने ।
तामाङ, माझी र दलित समुदायको बसोबास रहेको यस क्षेत्रमा स्थानीय ३० वर्षभन्दा बढी समयदेखि वन फँडानी गरी बस्दै आएका छन् । अहिलेको प्राकृतिक विपद्ले पुस्तौंदेखि बसोबास गर्दै आएको ठाउँबाटै उठिबास लाग्ने अवस्था आएको स्थानीय चित्रबहादुर तितुङले बताए । ‘घरभित्र र वरिपरि जमिन धाजा फाटेको छ,’ उनले भने, ‘सरकारले हामीलाई छिटो सुरक्षित ठाउँमा स्थायी बसोबास मिलाइदिए हुन्थ्यो ।’ यसअघि पनि २०५८ र २०६२ सालमा जमिन चिरा परेको थियो । त्यतिबेला जमिनमा धाँजा फाटेकाले शखेश्वरी प्राथमिक विद्यालयलाई केही पर सारिएको वडाध्यक्ष भ्लोनले बताए ।
जमिन भासिएर चिरा परेको घटनालगत्तै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको सुरक्षा निकायले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि प्रजिअ अधिकारीले जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताएका थिए । चुरे क्षेत्रमा रहेको उक्त बस्ती जोखिममा नै रहने वन विज्ञान अध्ययन संस्थान हेटौंडाका उपप्राध्यापक एवं संरक्षणविद् शैलेन्द्र यादवले बताए । ‘त्यसमा पनि लगातार वर्षा भएपछि पहिरो जाने, जमिन भासिने र चिराचिरा पर्ने गर्छ,’ उनले भने, ‘त्यस्तो जोखिमयुक्त क्षेत्रबाट बस्तीलाई अन्यत्र सार्नुपर्छ ।’
घरको मजेरीमा समेत धाजा फाटेपछि ७० वर्षीया चन्द्रमाया थिङको परिवार घरमा बस्न सकेको छैन । उनी आफन्तकहाँ बस्दै आएकी छन् । जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न पालिकासँग समन्वय भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए । उक्त क्षेत्र हेटौंडाको मुख्य बजारबाट झन्डै ३५ किलोमिटरको दूरीमा छ । बकैयाको छतिवनबाट करिब तीन घण्टा हिँडेपछि उक्त क्षेत्रमा पुगिन्छ ।
















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्