नेपालमा लागूऔषधको दुव्र्यसन तथा दैनिक उपभोगमा आउने तरकारीमा प्रयोग गरिने विषादीका कारण क्यान्सर लगायतका दीर्घरोग बढ्दै गएको सरोकारवालाले बताएका छन्। नेपाल अर्बुद रोग (क्यान्सर) निवारण संस्था, मकवानपुर शाखाका अध्यक्ष माधव अधिकारीले पछिल्लो समय क्यान्सरका बिरामीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे।
उनका अनुसार केही वर्षअघि करिब १५ प्रतिशतको हाराहारीमा रहेको क्यान्सर प्रभावितको दर हाल झण्डै ३० प्रतिशत पुग्ने अवस्थामा देखिएको छ। लागूऔषधको बढ्दो प्रयोग र विषादीयुक्त खाद्यवस्तु यसको प्रमुख कारणका रूपमा देखिएको उनले बताए। खानपान र जीवनशैलीमा समयमै सुधार नगरे भविष्यमा हरेक परिवारमा क्यान्सरका बिरामी देखिन सक्ने जोखिम रहेको उनको भनाइ थियो।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल अर्बुद रोग (क्यान्सर) निवारण संस्थाले बिहीबार हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई संयुक्त रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको कृषि विकास शाखाका गणेश खड्काले तरकारीमा प्रयोग हुने विषादीले क्यान्सर मात्र नभई मधुमेह, उच्च रक्तचाप तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या समेत बढाउन सक्ने बताए। उनले विषादीको असर कम गर्न तरकारी राम्रोसँग पखाल्ने, सफा कपडाले पुछ्ने, बोक्रा हटाउने, उमाल्ने तथा बाफमा पकाउने जस्ता उपाय अपनाउन सुझाव दिए।
स्रोतव्यक्ति जयप्रकाश घिमिरेले लागूऔषध अन्तर्गत रक्सीजन्य पदार्थ, सुर्तीजन्य वस्तु, गाँजा, चरेस, भाङ, कोडिन, निन्द्राजन्य औषधि तथा हेरोइनजस्ता पदार्थ समावेश हुने जानकारी दिए। यस्ता पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा नकारात्मक असर पार्नुका साथै राष्ट्रिय स्तरमै गम्भीर समस्या सिर्जना गर्न सक्ने उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेले विषादी र लागूऔषधको असरबारे धेरै मानिस जानकार भए पनि व्यवहारमा आवश्यक सावधानी नअपनाउने प्रवृत्ति रहेको बताए। उनले क्यान्सरजस्ता रोगबाट बच्न समयमै रोकथामका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जानकी गिरी, प्रधानाध्यापक मालती उप्रेती तथा संस्थाका कोषाध्यक्ष लक्ष्मण महतलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष अधिकारीका अनुसार यस्ता सचेतनामूलक कार्यक्रम हेटौंडा उपमहानगरपालिकाभित्रका पाँच विद्यालयमा सञ्चालन गरिने योजना रहेको छ।















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्