मकवानपुरका जिल्लाका चार गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । २८ जेठमा मकवानपुर गढी र बागमती गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । २७ जेठमा ईन्द्रसरोवर र भीमफेदी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
मकवानपुरगढीका जन्मदेखि १५ महिनाका ३६२ र १६ देखि २३ महिनासम्मका २३३ जना बालबालिकाले खोप लगाएका छन् । बागमती गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३४५ जना र १६ देखि २३ महिनासम्मका २९८ जना बालबालिकाले नियमित खोप पाएका छन् भने छुट भएका १२ जना बालबालिकाले पनि सबै खोप पाएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
गाउँपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले सरकारले तोकेको पूर्णखोप प्राप्त गरेको पुष्टि भएपछि यो घोषणा गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य नरीक्षक बासुदेव रिमालका अनुसार विभिन्नचरणको अनुगमन र प्रमाणीकरण प्रक्रिया पूरा गरेर मात्रै पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिन्छ । मकवानपुरका अन्य स्थानीय तह पनि क्रमशः घोषणाको प्रक्रियामा रहेका छन् । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र थाहा नगरपालिका सहित तीन स्थानीय तह प्रमाणीकरण प्रक्रिया पूरा गरी घोषणाका लागि तयार रहेका छन् ।
राक्सिराङ, बकैया र कैलाश गाउँपालिकामा प्रमाणीकरणको प्रक्रियामा रहेको जनस्वास्थ्यनिरीक्षक रिमालले जानकारी दिए । जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ईन्द्रसरोवर गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १८२ जना र १६ महिनादेखि २३ महिनासम्मका ९४ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् । यसैगरी भीमफेदी गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३०० जना र १६ देखि २३ महिनासम्मका २२९ जना बालबालिकाले खोप पाएका छन् । भीमफेदीमा यसअघि पूर्णखोप लगाउन छुट भएका एक जनालाई पनि खोपको दायरामा ल्याइएको छ । यस अवसरमा स्वयमसेविकालाई सम्मान गरिएको थियो ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्