विश्व वातावरण दिवस २०८३ को अवसरमा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामुलक कार्यक्रम हेटौँडा उपमहानगरपालिका–४ मा सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रु्रव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवद्र्धक राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगहरूलाई नियन्त्रण गर्न स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैली आवश्यक रहेको बताए ।
भान्सामा प्रयोग हुने बेसार, अदुवा, लसुन, तुलसी, मेथी लगायतका सामग्रीहरू औषधीय गुणले भरिपूर्ण रहेको उल्लेख गर्दै उनले “भान्सा नै पहिलो औषधालय” भएको धारणा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देलले स्वस्थ नागरिक निर्माणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताए । उनले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै स्वस्थ खानपान, सरसफाइ र हरियाली प्रवद्र्धनलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिए । यस्ता कार्यक्रमले समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले सहभागी सबैलाई सिकेका कुराहरू व्यवहारमा लागू गर्न आग्रह गरे ।
कार्यक्रमका सभाध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुुव प्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्न आवश्यक रहेको बताए । उनले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन र स्वस्थ जीवनशैली निर्माणमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो,” भन्दै उनले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ सहित नगरभित्रका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, गरी ४०० जनाभन्दा बढीको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान तथा अनुभवलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार विश्व वातावरण दिवस २०८३ को अवसरमा वातावरण संरक्षण, सरसफाइ तथा स्वस्थ जीवनशैली प्रवद्र्धनका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्