मकवानपुर थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा भएको तेस्रो थाहा नगरस्तरीय मावि विज्ञान प्रदर्शनी तथा विज्ञान शिक्षा प्रवद्र्धन–२०८३ प्रतियोगितामा हिमालयन बोर्डिङ स्कुल प्रथम भएको छ । जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा आयोजित प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय दोस्रो, पालुङ अंग्रेजी आवासीय विद्यालय तेस्रो तथा मत्स्यनारायण माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
थाहा नगरपालिकाभित्रका ११ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न सिर्जनात्मक तथा अनुसन्धानमूलक परियोजनाहरू प्रस्तुत गरेका थिए । प्रदर्शनीले विद्यार्थीहरूको अनुसन्धान क्षमता, सिर्जनशील सोच तथा व्यवहारिक ज्ञानलाई उजागर गरेको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले यस्ता प्रदर्शनीले विद्यार्थीमा वैज्ञानिक सोच, नवप्रवर्तन तथा अनुसन्धान संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीप विस्तारमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्रदर्शनीमा जनकल्याण माध्यमिक विद्यालय, सुन्दरीदेवी माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, बागेश्वरी माध्यमिक विद्यालय, नाट्यश्वरी माध्यमिक विद्यालय, दुर्गादेवी माध्यमिक विद्यालय, पालुङ मोर्डन विद्यालय, पालुङ भ्याली हार्ट एकेडेमी, हिमालयन इङ्लिस स्कुल, मत्स्यनारायण माध्यमिक विद्यालय तथा पालुङ अंग्रेजी आवासीय माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।
विद्यार्थीलयका अध्यक्ष राजीवकुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष भरत पोखरेल, प्याब्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, विद्यालयका निवर्तमान प्रधानाध्यापक सानोभाइ कार्की, जनकल्याण एलुम्नाइ एसोसिएसनका सदस्य तथा सञ्चारकर्मी शम्भु अधिकारीलगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।


















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्