बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले वनक्षेत्रलाई उद्योग र उत्पादनसँग जोड्नु पर्ने बताएका छन् । १८ भाद्रमा मकवानपुरको बागमती गाउँपालिकास्थित राइगाउँ र फापरबारीमा दुईवटा सवडिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले वनक्षेत्रको प्रयोगमार्फत् आर्थिकउपार्जन गर्नुपर्ने बताए । मन्त्री केसीले हिजो हरियो वन नेपालको धन थियो, हामीले हाम्रा डाँडाकाँडालाई सामुदायिक वनमार्फत हरियो वनायौं, अब यसको उपयोग गर्ने बेला भइसकेको भन्दै सामुदायिक वनलाई उत्दानसँग जोड्नुपर्ने बताए । उनले सम्भावना रहेका सम्पूर्ण सामुदायिक वनमा उद्योग कलकारखाना खोल्ने र वनसँग सम्बन्धित चिजहरु उत्दान गर्ने र नागरिकलाई आर्थिक उपार्जनसँग जोड्नु पर्नेमा जोड दिए ।
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्न नागरिक समृद्ध हुनुपर्ने र नागरिकको आर्थिक उपार्जन हुनुपर्ने हुँदा वनक्षेत्रमा उद्योग खोल्ने र उत्दानसँग जोडेर रोजगारी सृजना गरेर अगाडि बढ्नुपर्ने बताए । मन्त्री केसीले हरियो वन नेपालको धन मात्र नभई व्यवस्थित रुपमा वनक्षेत्रको उपयोग गर्दै वनसम्बन्धी उद्योगमार्फत् जनताको मुहार फेर्ने र समृद्धि ल्याउनेतर्फ सोच्नुपर्ने बताए । उनले नागरिकलाई छिटो, छरितो र मुस्कानसहितको सेवाप्रदान गर्न आग्रह गरे । वनको सही व्यवस्थापन र प्रयोगमार्फत् आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनले बताए । वन व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तह तीनै तहको सक्रिय सहभागिता अपरिहार्य हुनेमा मन्त्री केसीले जोड दिए । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले बागमती प्रदेशमा हालसम्म ३८ वटा यस्ता भवन निर्माण भइसकेको जानकारी दिँदै उनले अन्य प्रदेशको तुलनामा बागमती प्रदेशले वनक्षेत्रमा अग्रणी रुपमा काम गरेको उल्लेख गरे ।
उनले प्रदेश सरकारले वनक्षेत्रलाई विशेष प्राथमिकता दिदएर काम गरेको भन्दै सोही अनुसार कर्मचारीले पनि काम गर्नुपर्ने बताए । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले वनक्षेत्रको संरक्षण र उपयोगितामा जोड दिए । यस्तै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले सामुदायिक बनले संरक्षणसँगै आर्थिक उपार्जन गर्नुपर्ने र सामुदायिक वनमा संकलित रकमलाई पारदर्शी ढंगले उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेशप्रसाद चन्द्रवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वन निर्देशनालय बागमती प्रदेशका निर्देशक विद्यानन्द झासहित सरोकारवालाको सहभागिता रहेको थियो । डिभिजन वन कार्यालय हेटौंडाद्वारा ठेक्का व्यवस्थापन भई निर्माण भएका दुवै भवन निर्माणमा करीब पाँच करोड रुपैयाँ लागेको छ ।
बागमती गाउँपालिका वडा नम्बर १ राईगाउँ स्थित राईगाउँ सवडिभिजन वन कार्यालय निर्माणका लागि कार्यालयले २ करोड ९६ लाख ३७ हजार ३५० रुपौयाँमा ठेक्का आव्हन गरेकोमा २ करोड ४९ लाख ४४ हजार १८८ रुपैयाँमा र वडा नम्बर ८ फापरबारी स्थित नवनिर्मित सवडिभिजन वन कार्यालयको २ करोड ९६ लाख ५६ हजार ९३८ रुपौयाँमा ठेक्का आव्हान गरेकोमा २ करोड २४ लाख २६ हजार ९११ रुपैयाँमा सम्झौता भई निर्माण सम्पन्न भएको हो । भवनहरु क्रमश सुसन निहारिका जेभी र सुसन कन्ट्रक्सनले निर्माण गरेको हो ।
























































प्रतिक्रिया दिनुहोस्