मकवानपुर हेटौडाको बासुदेव खोलाको बाढीमा परी ज्यान गुमाएका तीन छात्राका परिवारलाई हेटौंडा उपमहानगर पालिका–१५ नम्बर वडा कार्यालयले प्रतिपरिवार १० हजार रुपैयाँ नगद राहत प्रदान गरेको छ । घटनामा परी घाइते भएकी छात्रालाई १५ हजारको शैक्षिक सामग्री सहयोग गरिएको छ । हेटौंडा–१५ का वडाअध्यक्ष सुनिल मोक्तानले पूर्वघोषित प्रतिबद्धता अनुसार पीडित परिवारको घरमै पुगेर राहत रकम तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

विपद्को कठिन घडीमा पीडित परिवारलाई प्रत्यक्ष भेटेर समवेदना व्यक्त गर्दै स्थानीय सरकार पीडितको दुःखमा साथमा रहेको सन्देश दिन राहत उपलब्ध गराइएको उनले बताए । अध्यक्ष मोक्तानले आर्थिक सहयोगले बालिकाले गुमाएको अमूल्य जीवनको क्षतिपूर्ति गर्न नसक्ने भएपनि पीडाको समयमा परिवार लाई केही हदसम्म साथ र भरोसा दिने उद्देश्यले राहत प्रदान गरिएको बताए । ‘सानो सहयोगले गुमेका कोमल जीवनको भर्पाई गर्न सकिँदैन । तर, यो विपद्को समयमा तपाईंहरुको परिवारमा परेको अपूरणीय क्षतिमा हामी पनि साथै छौँ भन्ने मनसायले यहाँ आएका हौँ,’ उनले भने । राहत हस्तान्तरणमा अध्यक्ष मोक्तानले विपद् न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउनु पर्नेमा जोड दिए । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका जोखिमयुक्त खोला, बाटो तथा अन्य स्थान पहिचान गरी सुरक्षित पूर्वाधार निर्माणमा स्थानीय तहले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

विशेषगरी वर्षायाममा विद्यालय जाने बालबालिका तथा सर्वसाधारणले खोला तर्नुपर्ने बाध्यता अन्त्य गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनले बताए । हेटौंडा–१९ का वडाअध्यक्ष नरनाथ सुवेदीले बासुदेव खोलाको घटनाले स्थानीय तहलाई जोखिमयुक्त क्षेत्रको पहिचान र सुरक्षा व्यवस्थापनमा थप गम्भीर बन्नुपर्ने पाठ सिकाएको बताएका छन् । उनले यस्ता दर्दनाक घटना आगामी दिनमा दोहोरिन नदिन स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था र समुदाय सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष सुवेदीले बाढीमा परी अकालमै ज्यान गुमाएका अबोध बालिकाको सम्झनालाई दीर्घकालसम्म जीवित राख्न सालिकसहितको स्मृति पार्क निर्माण गर्ने सोच अघि सारिएको जानकारी दिए ।

स्मृति पार्कले बालिकाको सम्झना जोगाउनुका साथै उनीहरुको मृत्युको घटनाबाट आगामी पुस्तालाई समेत सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । राहत तथा समवेदना कार्यक्रममा हेटौंडा–१५ र १९ नम्बर वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा युवा–विद्यार्थी संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी