मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेको योजना तथा कार्यक्रमको समीक्षा गरेको छ । २७ साउनमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको सभाहलमा समीक्षा गरेको हो । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा कार्यपालिका अन्तर्गतका विभिन्न विषयगत समितिको तर्फबाट प्रस्तुतीकरण भएको थियो ।

समीक्षा कार्यक्रममा सुशासन तथा संस्थागत विकास समितिका संयोजक विष्णु बहादुर गुरुङले पालिकाको मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्यूनीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, आन्तरिक र अन्तिम लेखापरीक्षण, बेरुजु फछ्र्यौट, सेवा प्रवाहका मापदण्ड निर्धारण, सेवा प्रवाहमा बिद्युतीय सूचना प्रविधिको प्रयोग, नागरिक सन्तुष्टी सर्वेक्षण र अन्तरनिकाय समन्वय जस्ता विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यपालिका अन्तर्गतकै आर्थिक विकास र वन, वातावरण तथा विपद् ब्यबस्थापन समितिका संयोजक हिरेन्द्र कुमार रायमाझीले कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय क्षेत्र तथा वन तथा भू–संरक्षण, जलाधार संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण विपद् व्यवस्थापन, वारुणयन्त्र सञ्चालनलगायतका विषयमा अघिल्लो आर्थिक वर्षमा भएका कार्यक्रम, त्यसको प्रभाव, उपलब्धी लगायतको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सामाजिक विकास समिति संयोजक दिनेश बलले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रबद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा सञ्चालन भएका कार्यक्रम तथा योजनाको विषयमा र पूर्वाधार विकास समिति संयोजक शिवराज थिङले सडक तथा पुल, सिंचाई, भवन तथा सहरी विकास, उर्जालगायतका क्षेत्रमा आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका योजनाहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरोज पौडेल, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । समीक्षामा आगामि दिनमा कार्यक्रम सञ्चालनको तौर तरिकाबाट भएका सिकाइलाई व्यवहारमा सुधार गर्ने, सहभागितात्मक योजना सञ्चालन गर्ने लगायतको विषयमा छलफल भएको थियो ।

पालिका प्रेस
थप जानकारी