हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा बक्यौता रकमभन्दा बढी अग्रिम खानेपानी महसुल बुझाउने ग्राहकको संख्या बढी रहेको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ग्राहकबाट ६१ लाख ६३ हजार रुपैयाँ महसुल उठ्न बाँकी रहे पनि अग्रिम रूपमा ९६ लाख २८ हजार रुपैयाँ प्राप्त भएको छ । बोर्डले आर्थिक वर्षको असार मसान्तसम्म १४ करोड ६५ लाख २१ हजार रुपैयाँ बराबरको खानेपानी महसुल बिलिङ गरेकोमा १४ करोड २१ लाख ४१ हजार रुपैयाँ अर्थात् ९७ दशमलव ०१ प्रतिशत महसुल संकलन गरेको जनाएको छ।
बिलिङ रकमको तुलनामा करिब ४३ लाख ८० हजार रुपैयाँ महसुल उठ्न बाँकी रहे पनि पुरानो बक्यौता तथा अन्य हिसाब समायोजनपछि बोर्डको विवरणमा ग्राहकबाट बाँकी महसुल ६१ लाख ६३ हजार रुपैयाँ रहेको उल्लेख छ। ग्राहकले बोर्डप्रति विश्वास गर्दै अग्रिम रूपमा ९६ लाख २८ हजार रुपैयाँ महसुल बुझाएका छन्। अग्रिम महसुल रकम बक्यौताभन्दा ३४ लाख ६५ हजार रुपैयाँ बढी हो।
बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार नियमित रूपमा महसुल संकलन हुनुका साथै ग्राहकबाट अग्रिम महसुलसमेत प्राप्त हुनु बोर्डको सेवा प्रवाहप्रति उपभोक्ताको विश्वासको संकेतका रूपमा लिन सकिन्छ। हाल हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका २९ हजार ८ सय ६७ धारामार्फत खानेपानी वितरण गर्दै आएको छ। बोर्डले दैनिक औसत ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी उपभोक्तालाई औसत ८ देखि ९ घण्टा वितरण गर्दै आएको जनाएको छ।
बोर्डले खानेपानी सेवा विस्तारसँगै चुहावट नियन्त्रण, नयाँ पाइपलाइन विस्तार, स्रोत संरक्षण तथा पूर्वाधार सुधारका कामलाई समेत प्राथमिकता दिएको जनाएको छ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्