मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएकोे छ । यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान निर्माण गर्न लागिएको जानकारी दिए । यसमा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान झल्किने रचना हुनुपर्ने उनको भनाइ छ ।

नगर गानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रुपमा आफूहरूले विकास गर्न चाहेको मेयर मीनाकुमारी लामाले बताइन् । ‘हेटौँडाको इतिहास, प्रकृति, संस्कृति, सामाजिक विविधता र औद्योगिक पहिचानलाई समेट्नेगरी नगर गान निर्माण गर्न खोजिएको हो । त्यसैले उत्कृष्ट सृजनाका लागि स्रष्टा तथा रचनाकारहरूको सहभागिता महत्त्वपूर्ण हुनेछ,’ मेयर लामाले भनिन् ।

नगरपालिकाले नगर गान निर्माणसम्बन्धी अन्य व्यवस्था ‘हेटौँडा उपमहानगरपालिका पर्यटन वर्ष २०८३ को लोगो तथा नगर गान निर्माणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम हुने जनाएको छ । चालु आव २०८३/८४ मा ‘हेटौँडा पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेको सन्दर्भमा हेटौँडाको पहिचानका लागि विभिन्न अभियान सञ्चालन गर्न लागिएको हो ।

पालिका प्रेस
थप जानकारी