बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका कार्यक्रम एवम् आगामी आर्थिक वर्ष २०८२÷८३ का प्रमुख कार्यक्रमहरू सार्वजनिक गरेको छ । पदबहाली गरेको एक बर्ष पुगेको अवसरमा हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री किरण थापाले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि” अभियान, “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” कार्यक्रम प्रदेशभर सुरु गर्ने पनि उनले बताए । प्रदेशको स्वास्थ्य प्रणालीमा भएको सीमितता र पहुँचको अभावलाई हटाउँदै नीतिगत सुधार सेवा सुदृढीकरण, पूर्वाधार विस्तारलगायतको कामलाइ निरन्तरता दिने मन्त्री थापाले बताए । कार्यक्रममा मन्त्री थापाले आम जनताले महसुस गर्नेगरी सेवा दिन कुनै कसर बाँकी नराखेको बताए ।

स्वास्थ्य मन्त्रालयका काम चुस्त बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ऐन संसोधन गरी प्रकृया अगाडि बढाएको जानकारी दिए । स्वास्थ्य संस्था सञ्चालन, सेवा स्तरोन्नति, नवीकरण तथा अनुमति प्रणालीलाई व्यवस्थापन गर्न नियमावली तथा मापदण्डहरू बनाइएर अनलाइन प्रणालीबाट काम सुरु भएको उनले बताए । बागमती प्रदेश सरकारले रसुवा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोकजस्ता दुर्गम जिल्लाहरूमा विशेषज्ञ चिकित्सक प्रोत्साहनसहित परिचालन गरेको पनि मन्त्री थापाले बताए ।

मन्त्री थापाले भने, “अब जनताले विशेषज्ञ सेवाका लागि काठमाडौं धाउनु पर्दैन, बिषेशज्ञ डाक्टरसहित सेवा प्रदेश अस्पातलमा पुग्नेछ ।” प्रदेश सरकारले २१ प्रकारका आयुर्वेद औषधिहरू उत्पादन र वितरण गर्दै वैकल्पिक चिकित्सा प्रवद्र्धन थालेको छ । यस अघि ११ प्रकारका औषधि उत्पादन गर्दै आएको औषधि उत्पादन केन्द्रले केहि महिना भित्र नै २१ प्रकारका औषधि उत्पादन गर्ने पनि मन्त्री थापाले जानकारी दिए ।

यसैगरी प्रदेश योग समिति गठन गरेर योग, ध्यान, प्राणायामलाई वैधानिकता र गुणस्तरीयता दिने काम सुरु भएको पनि मन्त्री थापाले बताए । विशेषज्ञ आयुर्वेद सेवा विस्तार गरी अन्तरंग सेवा समेत नुवाकोट, चितवनमा सुरु भइसकेको जानकारी दिँदै अन्य स्थानमा सुरु गरीने उनको भनाइ छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएमएलटी, बिएएसी नर्सिङ, बिफर्मा, एमडी लगायतका बिषय पढाइ हुने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

हाल मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल र भक्तपुर अस्पतालमा ३०० शैया, सिन्धुली, धादिङ, नुवाकोटमा १०० शैया, रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा ५० शैया, रसुवा, टोखा, बज्रबाराहीमा २५ शैयामा अस्पताल सञ्चालन भइरहेको मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । यी अस्पतालहरूमा इएमआर् इएचआर एमएसएस सेवा मापदण्ड, क्लिनिकल अडिट र डिजिटल सेवा प्रणाली लागू गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने सेवा दिने तयारी गरिएको उहाँले जानकारी दिए ।

बर्थिङ सेन्टरहरूको सशक्तीकरणसँगै गर्भवती र सुत्केरीको हवाइ उद्धार कार्यक्रमलाई निरन्तरता दिइएको पनि सचिव डा. गौतमले बताए । “एक जिल्ला, एक स्वस्थ सहर”, “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम शुरू गरेको मन्त्रालयले जानकारी दिएको छ । अटिजम, थालसेमिया, सेरेब्रल पाल्सी, हेमोफिलिया लगायतका अनुवांशिक रोगहरूको निःशुल्क उपचारका लागि पनि प्रदेश सरकारले काम गरीरहेको छ । त्यस्तै, विपन्न, अपाङ्ग, लोपोन्मुख जाति र महिला स्वास्थ्य स्वयंसेविकाका लागि बीमा र सम्मान कार्यक्रम निरन्तर जारी राखेको सचिव डा। गौतमले बताए ।

मन्त्रालयका सचिव डा. गौतमले स्वास्थ्य मन्त्रालय अन्तर्गत हाल ४६ वटा संस्थागत संरचनाहरू रहेको बताउँदै मन्त्रालयले हालै स्वास्थ्य सेवा ऐन, नियमावली, कार्यविधि, मापदण्ड, मार्गदर्शन लगायतका विभिन्न कानुनी तथा प्राविधिक दस्तावेजहरू निर्माण तथा संशोधन गरिरहेको जानकारी दिए । डा. गौतमले मन्त्रालयबाट चालु आर्थिक वर्षमा प्रगति भएको गतिविधि र आगामी बर्षको कार्यक्रमका बिषयमा जानकारी समेत दिए । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु भएको भक्तपुरमा मस्तिष्क रोगसम्बन्धी सेवा विस्तार सुरु गरिने पनि कार्यक्रममा जानकारी गराइयो ।

नर्सिङ विषयको प्रमाणपत्र तहको अध्ययन प्रादेशिक अस्पतालहरूमा सञ्चालन हुने जानकारी दिइयो ।कार्यक्रममा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी