मकवानपुरको ऐतिहाँसिक, साँस्कृतिक र सम्पदाको आकर्षण रहेको भीमफेदी गाउँपालिकाको विकासका लागि निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक भएको छ । नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचन केन्द्रित निर्वाचन प्रतिवद्धता सार्वजनिक गरेको हो । ‘प्राकृतिक श्रोत, कृषि, पर्यटन र पूर्वाधार ः सुखी र समृद्ध भीमफेदी निर्माणको आधार’ भन्ने नाराका साथ एमाले भीमफेदीले प्रतिवद्धतापत्र ल्याएको हो । ०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा भारी मतसहित पालिका अध्यक्ष र उपाध्यक्ष तथा ६ वटा वडा अध्यक्ष पद जितको नेकपा एमालेले भीमफेदीलाई सम्वृद्ध बनाउन थप प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । भीमफेदी गाउँपालिकामा ९ वटा वडा रहेको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पालिकाको अध्यक्ष र उपाध्यक्षसहित सबै वडाका सबै पदमा उमेद्वार दर्ता गरेको एमाले भीमफेदी अहिले पालिकाका नागरिकहरुलाई आफ्नो प्रतिवद्धता पत्रको विषयमा जानकारी गराइरहेको छ । अन्य पार्टीभन्दा विकासको फरक मोडल र योजना कार्यान्वयन गर्ने गरी नागरिकलाई सुविधा र पालिकालाई सम्वृद्ध बनाउने योजना एमाले भिमफेदीको रहेको छ ।
‘जनताले हेर्दा देखिने, छाम्दा भेटिने र बोलाउँदा सुनिने’ सरकार स्थानीय तह नै भएको एमाले भीमफेदीको ठहर छ । करिब २५ हजार जनसंख्या रहेको भिमफेदीमा प्राकृतिक श्रोतहरू, जल सम्पदा, खनिज सम्पदा र जैविक विविधताको हिसाबले प्रचुर सम्भावना रहेको गाउँपालिका हो । संघीयता कार्यान्वयनसंगै गठित स्थानीय तहको सेवा र विकासको जिम्मा लिएर जनता माझ निर्वाचित भएर जाने भीमफेदीको पहिलो सरकार पनि एमालेकै हो । पहिलो सरकारले स्थानीय समुदायका माग, आवश्यकता र संभावनका पहिचान गरी सिमित श्रोत तथा साधनबाट हालसम्म पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, संस्थागत विकासका क्षेत्रमा पालिकाले काम गरेको पालिकाका निवर्तमान अध्यक्ष हिदम लामाले बताए । अहिले उनै लामाले पालिका अध्यक्षमा उमेद्वारी दर्ता गराएका छन् ।
भीमफेदीको विकास र सेवा प्रवाहमा गुणस्तरीय र विश्वसनीय बनाई सुखी र समृद्ध भीमफेदी निर्माणका लागि एमाले भिमफेदीका उमेद्वारहरु तयार रहेको लामाले बताए । भीमफेदी विकासको सपना साकार पार्नका लागि नेकपा एमालेको नेतृत्व आवश्यक भएको औल्याइएको छ । गाउँपालिकाबासीहरूको आस्था, विश्वास र भरोसाको पार्टीको रुपमा नेकपा एमाले पुनः स्थापित हुनेमा एमालेले प्रतिवद्धता पत्रमै विश्वास लिएको जनाएको छ । निर्वाचन प्रतिवद्धतापत्रमा एमालले सम्वृद्ध भीमफेदी निर्माणका लागि मतदान गर्न समेत अनुरोध गरेको छ ।
शैक्षिक सुधारका लागि चार ‘प’
भीमफेदीमा सामुदायिक विद्यालयलाई शैक्षिक अब्बलताको अग्रभागमा राख्न पालिकाको शैक्षिक विकासका चार ‘प’ को योजना अघि सारिएको छ । एमाले भीमफेदीले ‘प’ अर्थात पहुँच, प्रविधी, पुर्वाधार र प्रोत्साहनको सिद्धान्तलाई आफ्नो निर्वाचन प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने शैक्षिक विकासका लागि पालिकाले शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि एक शिक्षक एक ल्यापटप कार्यक्रमलाई समेत समेटेको छ । पालिका अन्तर्गतका सबै माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा, सबै विद्यालयमा इन्टरनेट सेवा र विद्यार्थीको चाहना र आवश्यकता सम्बोधन गर्नको लागि “विद्यार्थीसँग अध्यक्ष कार्यक्रम” सञ्चालन गर्ने एमाले भीमफेदीको प्रतिवद्धता छ ।
पालिकाको माध्यमिक विद्यालयहरुको कक्षा ६ भन्दा माथिको कम्प्युटर विषयमा स्नातक तह उत्तीर्ण गरेका दक्ष जनशक्तिबाट अध्यापन गराइने योजना समेत समेटिएको छ । भीमफेदी गाउँपालिकामा ८ वटा माध्यमिक विद्यालय रहेका छन् । विद्यालय प्रशासन व्यवस्थापनदेखि समग्र शैक्षिक गतिविधिलाई पेपरलेस बनाउने उद्देश्य लिइएको छ । समग्रमा विद्यालयहरुलाई प्रविधिमुलक बनाउने र एकीकृत प्रणालीमा समावेश गराउने योजना भीमफेदी एमालेको रहेको छ ।
माध्यमिक तहको दरबन्दी अभाव रहेका पालिकाका माध्यमिक विद्यालयहरुमा शिक्षक दरबन्दी व्यवस्था गरिने, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ । एमाले भीमफेदीको नेतृत्वमै स्थानीय तहमा चालु आर्थिक वर्षमा ‘विद्यालय बस’ सेवा समेत संचालनमा ल्याइसकेको पालिकाले विद्यालय र बालबालिकाको दुरी कम पार्नका लागि बाराही मा.वि. निबुवाटार, राष्ट्रिय मा.वि. सानुटारमा पनि विद्यालय बस सेवा संचालनमा ल्याउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
भीमफेदीको बाराही मा.वि. निबुवाटारमा बस सेवा सञ्चलन भएपछि इकचुग, गोठडाँडा लेख पान्द्राग, चिलाउने लगायतको क्षेत्रका विद्यार्थीहरुलाई सहज हुनेछ । सबै विद्यालयहरूमा स्वच्छ खानेपानी, शौचालय, चमेनागृह, विद्युतीकरण, आवश्यक फर्निचर लगायतका भौतिक सामाग्रीको व्यवस्था गरिने र विद्यालय बस सेवालाई प्रभावकारी बनाउन विद्यालय र सडक सञ्जाललाई जोडिने प्रतिवद्धता छ । विद्यालय पूर्वाधार विकासका साथै कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरिने एमाले भिमफेदीको प्रतिवद्धता छ ।
पालिकाका विद्यालयमा संचालनमा रहेको विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिदै थप विस्तार, पालिकाद्धारा संचालित प्राविधिक विद्यालयमा अध्यनरत विद्यार्थीहरू मध्ये गरिव, विपन्न र जेहेन्दार विद्यार्थी पहिचान गरी उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति व्यवस्था लगायतका कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको छ । पालिका अन्तर्गतको महेन्द्र माध्यमिक विद्यालय र महालक्ष्मी माध्यामिक विद्यालय सुपिगंमा संचालित प्राविधिक शिक्षालाई स्तरोन्नती गरी डिप्लोमा तहसम्म संचालनमा ल्याईने एमालेको प्रतिवद्धता छ । गरीव तथा विपन्न परिवारका बालबालिकालाई निशुल्क स्टेशनरी, शैक्षिक सामाग्री, ड्रेस लगायतका सामाग्री व्यवस्थापन गरिने एमाले भीमफेदीले आफ्नो निर्वाचन प्रतिवद्धता पत्रमा उल्लेख छ ।
ज्येष्ठ नागरिकको निःशुल्क उपचार, दुर्गममा एम्बुलेन्स सेवा
नेकपा एमाले भीमफेदी गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई प्रत्येक महिना गाँउपालिकाबाट स्वास्थ्यकर्मी खटाई निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसारको उपचार र परामर्श सेवा दिईने जनाएको छ । शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरूलाई एच.आर.डि.सी. बनेपासँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने एमाले भिमफेदीले जनाएको छ । शारीरिक रुपमा अपाङ भएका बालबालिकाहरूको सहजीकरणका लागि मासिक रुपमा घरदैलोमा गएर सेवा पु¥याउने दक्ष जनशक्तिको व्यवस्थापन गरिने एमालेको प्रतिवद्धता छ ।
एमाले भीमफेदी स्थानीय सरकारले शुरुवात गरेको चेपाङ विमा कार्यक्रमलाई निरन्तरता दिइने योजना छ । भीमफेदीको पहिलो स्थानीय सरकार हाँकेको एमालेले निर्माण शुभारम्भ गरेको १५ शैया अस्पताल निर्माण सम्पन्न गरी आवश्यकतानुसार डाक्टर तथा स्वास्थ्य प्राविधिकहरूको व्यवस्था गरी मिनी ट्रमा सेन्टर सहित आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराइने भीमफेदीका पालिका अध्यक्ष उमेद्वार हिदम लामाले बताए । लामाले भने–‘कतिपय शुरु गरेका कामहरु पूर्णता पाएका छैनन्, त्यो कुरा हाम्रो प्रतिवद्धता पत्रमा राखेको छु, पूरा पनि गर्छु ।’ ईपा, कोगटे लगायत क्षेत्रका विरामीहरूको लागि एम्बुलेन्स सेवा संचालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
७० वर्ष नाघेका जेष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको भ्याक्सिन लगाउँने व्यवस्था गरिने, आर्थिक अवस्था कमजोर भई नियमित स्वास्थ्य परीक्षण गराउन नसक्ने समुदाय, वर्गलाई रोगको प्रकृति अनुसार नियमित स्वास्थ्य परिक्षण गर्न शिविरहरू संचालन गरिनेछ । बैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको परिवारलाई स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न प्रोत्साहनमूलक कार्य गर्ने, आफ्नै स्वास्थ्य संस्थाको भवन नभएका स्वास्थ्य संस्थाहरूमा नयाँ सुविधा सम्पन्न स्वास्थ्य भवन बनाइने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
कला सहित्य प्रवद्र्धन गर्दै संस्कृती संरक्षण गर्ने योजना
गाउँपालिकामा रहेका परमपरागत सीप, सामाजिक मुल्य मान्यता, रीतिरिवाज, परम्परा, चाल चलन र प्रथा परम्परा, चाडपर्वहरूलाई समय सापेक्ष परिमार्जन गर्दै संरक्षण गर्ने एमाले भीमफेदकिो योजना छ । आफ्नो चुनावी प्रतिवद्धतामा धार्मिक आस्था र मान्यता अनुरुपका मठ मन्दिर, गुम्बा, चर्चहरूको निर्माण तथा संरक्षणमा यथोचित लगानी गरिने उल्लख छ ।
साँस्कृतिक तथा ऐतिहासिक महत्वका भीमसेन जात्रा, कृष्ण जात्रा लगायतका मेल, पर्व, रहनसहनको संरक्षण तथा प्रवर्द्धन योजना एमालेको छ । लोक संस्कृति, कला तथा साहित्यका क्षेत्रमा आवद्ध स्थानीय प्रतिभाहरूलाई संरक्षण तथा प्रवर्द्धन गरिने प्रतिवद्धतामा समेटिएको छ । पालिका भित्र जन्मिनु भइ साहित्य र कलाका बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउनु भएका सर्जक श्रष्टाहरूको सम्मानमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
जोखिममा परेकालाई अस्थायी आश्रय स्थल
ज्येष्ठ नागरिक आवास गृह निर्माण गरी ज्येष्ठ नागरिकहरूलाई विश्राम, मनोरञ्जन र निःशुल्क सामुहिक आवासको सुविधा उपलव्ध गराईने प्रतिवद्धता पत्रमा उल्लेख छ । असाहय र जोखिममा रहेका व्याक्तिको लागि अस्थायी आश्रय स्थल निर्माण गरिने जनाइएको छ ।
विभेद, बन्चितिकरण र बहिष्करणमा परेका वर्ग तथा समुदायलाई शासन प्रकृयाको सबै चरणहरूमा अर्थपूर्ण सहभागिताको सुनिश्चितता गरी अपनत्व प्रदान गरिनेछ एमाले भीमफेदीको योजना छ । “जसको कोहि हुदैन उसको साथमा भीमफेदी गाउँपालिका हुनेछ“ भन्ने मान्यतालाई आत्मसात् गर्दै बाढी, पहिरो, भुकम्प तथा अन्य विपद् बाट पीडित परिवारहरूलाई तत्काल संरक्षण तथा व्यवस्थापन कार्यको लागि अस्थाई सामुहिक आवासहरू निर्माण तथा संचालन गरिने योजना छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन सरलिकृत गरिने प्रतिवद्धतामा समेटिएको छ ।
खेलकुदलाई प्रोत्साहन, वडैपिच्छे खेलमैदान
भीमफेदी ४ चिउरी बगैचामा निर्माणाधीन रंगशाला र भीमफेदी ६ सिमलटारमा रहेको मिनी रंगशाला निर्माण कार्य सम्पन्न गरिने एमाले भीमफेदीको निर्वाचन प्रतिवद्धता छ । प्रत्येक वडाहरूमा उपयुक्त स्थानहरूमा खेल मैदान निर्माणमा प्राथमिकता दिइने योजना छ । विभिन्न विधाका खेलाडीहरू उत्पादन गर्न नियमित प्रतियोगिताहरू (भीमफेदी गोल्डकप) आयोजना गर्ने एमाले भीमफेदीको योजना छ ।
स्थानीय युवाहरूको श्रम, सीप, माग, चाहना तथा संभावना समेतको आधारमा विभिन्न युवा लक्षित कार्यक्रम संचालन गरिने, भीमफेदी बजार क्षेत्र भित्र युवा लक्षित खुल्ला व्यायाम केन्द स्थापना गरिने छ र मर्निङवाकको लागी व्यबस्थित रुट निर्माण गरिने योजना एमालेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
आन्तरिक आय बढाउने ‘अब्बल योजना’
पालिका भित्र रहेको प्राकृतिक श्रोतहरू ग्रेनाईट, मार्वल, चुनढुङ्गा, जस्ता, तामा लगायत खनिज पदार्थहरूको अनुसन्धान गरी जनता, पालिका र निजी क्षेत्रको लगानीमा उद्योगहरू स्थापना गरी परिचालन गरिने एमाले भीमफेदीको प्रतिवद्धता छ । आन्तरिक आय र रोजगारी समेतको बढोत्तरी र रोजगारीको सिर्जना गर्नका लागि यस किसिमको योजनाको प्रतिवद्धता आएको उल्लेख छ । पालिका भित्र नीजि क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउन सार्वजनिक निजी साझेदारीमा काम गर्ने गरी आवश्यक नीतिगत र कानूनी व्यवस्था गरिने अर्को महत्वपूर्ण योजना सार्वजनिक गरिएको छ ।
आयोजना संचालनको लागि राष्ट्रिय अन्तराष्ट्रिय व्यावसायीहरूको समेत सहभागीतामा लगानी सम्मेलन गरिने र रोजगारको दायरा बढाउन तथा उत्पादनमुलक क्षेत्रमा सहभागिता बढाउन पालिकाले युवा उद्यम कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । इच्छाएको व्यवसाय सञ्चालनको लागि न लगानी गर्न सक्ने पुँजी छ, न त ऋण लिनको लागि धितो राख्न सक्ने क्षमता, इच्छाशक्ति हुँदाहुँदै पनि छाक टार्न जागिर खोज्दै शहर पस्नुपर्ने वा वैदेशिक रोजगारिको सहारा लिनुपर्ने, यो समस्या आम नेपाली निम्न तथा निम्न मध्यम वर्गको विद्यमान समस्या पार्टीले बुझेको पत्रमा उल्लेख छ । गाउँपालिकाले यही समस्यालाई समाधान गर्न तथा उत्पादनका दायरा फराकिलो पारी उद्यमीको संख्या बढाउन युवा उद्यम विकास कार्यक्रम सञ्चालन गरिने जनाएको छ । सो कार्यक्रममार्फत ५ बर्षसम्म बिना धितो, बिना ब्याज समूहलाई ऋण दिने छ, समूहले नियमानुसार उक्त रकम फिर्ता गर्दै जानुपर्ने योजनालाई एमाले भीमफेदीले प्रतिवद्धता गरेको छ ।
युवा श्रम बैंक स्थापना
विकास निर्माणका कार्यहरूमा युवाहरूको सहभागिताको लागि युवा स्वरोजगार बैंक गठन गरिनेछ । उक्त बैंकमा आवद्ध युवाहरूले पालिका भित्रका सम्पूर्ण विकास निर्माणका काममा सहभागी गरिने छ र योग्यता, शीपको आधारमा रोजगारीको अवसर श्रीजना गरिनेछ । श्रम बैंकमा आवद्ध सम्पूर्ण युवाहरूलाई ५ लाख बराबरको नागरिक दुर्घटना विमा गरिने योजना छ । यसको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारीढंगबाट अगाडी बढाइने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
बैदेशिक रोजगारीबाट फर्केका युवा युवतीको सीप र ज्ञानलाई स्थानीय रोजगारी श्रृजना, उद्यमशिलता प्रवद्र्धन गर्न उपयोग गर्ने वातावरण श्रृजना गरिनेछ । पालिकामा लघुउद्यम कार्यक्रम संचालन गरी साना तथा घरेलु उद्योगको संचालन तथा प्रवर्द्धन गरी उद्यमीहरूलाई व्यवसायीक वनाउन सीपमुलक तालिम, बजार तथा सहुलियत दरको ऋणको व्यवस्था गरी लघु उद्यमलाई प्रवर्द्धन सम्बन्धी कार्यक्रम संचालन गरिने योजना छ ।
कृषिमा आधुनिकीकरणः ‘एक वडा एक प्राविधिक’
भीमफेदी गाउँपालिकाले जीवन निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक प्रविधि, उन्नत वीउ विजन र मलखादको व्यवस्था गर्दै कृषिलाई आधुनिकीकरण गर्ने नीति लिने गरी काम गर्ने एमालेको नीति तथा योजना छ । पालिकामा कृषि आधुनिकीकरणका लागि एक वडा÷एक कृषि र पशु प्राविधिक व्यबस्था गरिने एमाले भीमफेदीको चुनावी प्रतिवद्धता छ । निशुल्क प्राविधिक सेवा परामर्शको लागि पालिकामै किसान कल सेन्टरको स्थापना तथा संचालन गरिने जस्ता प्रभावकारी योजना पनि प्रतिवद्धता पत्रमा उल्लेख छ ।
कृषि उपजलाई उद्योगसँग आबद्द गर्न घरेलु कृषि उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिइने नीति एमाले भीमफेदीको छ । पालिकामा शितभण्डार (कोल्डस्टोर)स्थापना गर्ने योजना पनि समेटिएको छ । भौगोलिक विशिष्टता र संभावना अनुसार पशुपालन, फलफुल, तरकारी, दलहन, तेलहनको पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक कृषि उत्पादन कार्य गरिने नीति छ । बाँझो कृषि योग्य जमिनलाई पुनःउपयोगमा ल्याउन उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गरिने योजना छ ।
अबको योजना भीमफेदी ‘हेरिटेज शहर’
ऐतिहासिक भीमफेदी बजारलाई पुनर्जागृत गरी सांस्कृतिक (हेरीटेज) शहरको रुपमा अगाडी बढाइने योजना समेटिएको छ । चन्द्र शम्शेरको पालामा मोटर बोक्ने भीमफेदी पारिबजार देखी चिसापानीगढी सम्मको स्टेप बाटो र हात्तीसारलाई एकीकृत विकास गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने एमाले भीमफेदीको योजना छ ।
भीमफेदी–९ को गोलमोड–देउराली हुदै कोगटे–पाण्डव पोखरी–भीमफेदी ८ को टोड्के महाभीर कान्तीलोकपथ सम्मको बाटोलाई महाभारत लालिगुँरास साइकिल ट्रयाकको रुपमा विकास गरिने एमालेको नीति छ । पर्यटकलाई झिकाउने, टिकाउने र विकाउने नीति अबलम्बन गर्ने एमालेले जनाएको छ । लामिडाँडा देखि सिमभन्ज्याङ क्षेत्र, देउराली देखी फापरबारी क्षेत्र, सुपिंग र कोगटे का बिभिन्न भेगहरूमा निजि क्षेत्र संग सहकार्य गरी होटल, होमस्टे व्यवसाय संचालन गरी ग्रामिण महिलाहरूमा उद्यमशिलता विकास गर्ने नीति लिइने प्रतिवद्धतापत्रमा उल्लेख छ । यसका साथै पालिकाको राजश्वको थप संभाव्यताको अध्ययन गरी श्रोतको पहिचान, प्राप्ति र परिचालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
वडैपिच्छे मेलमिलाप केन्द्रः छिटो र विश्वशनीय न्याय सम्पादन
गाउँपालिका भित्र हुने साना तिना देवानी प्रकृतिका विवाद समाधान गरी समुदायस्तरमा दिगो शान्ति स्थापना गर्न प्रत्येक वडामा मेलिमिलाप केन्द्रहरूको संचालनलाई प्रभावकारी तुल्याइने एमालेको चुनावी प्रतिवद्धता छ । मेलमिलापकर्ताहरूको लागि तालिम र क्षमता विकास गरिनेछ ।
पालिकाको न्यायिक समितिको क्षमता विकास गरी न्याय सम्पादन कार्यलाई छिटो र विश्वसनीय बनाइने एमाले भीमफेदीको प्रतिवद्धता छ । गाउँपालिकाको विपन्न तथा अल्पसंख्यक समुदायको रुपमा रहेको चेपाङ(प्रजा) समुदायको हित र उन्नतिका लागि विभिन्न आयमुलक कार्यक्रम संचालन गरिने जनाएको छ ।
अव्यवस्थित वसोवासी, भुमिहिन, भुमिहिन दलित र सुकुम्बासीहरूलाई लालपुर्जा उपलव्ध गराउन पालिकाद्धारा संकलित फारमहरूको वारेमा भुमि आयोगसँग समन्वय र सहकार्य गरी जग्गा धनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराइने योजना छ । पालिका क्षेत्र भित्र रहेका सरकारी, सार्वजनिक तथा ऐलानी जग्गाहरूको पहिचान गरी अभिलेखिकरण तथा संरक्षण गर्ने योजना एमालेको छ ।
महिला हिंसा विरुद्ध शुन्य सशनशिलताको नीति लिइने एमाले भीमफेदीले जनाएको छ । महिला उद्ययमशिलता, महिलाको आर्थिक सुदृढिकरण लगायतका कार्य गर्ने नीति लिइने प्रतिवद्धता पत्रमा लेखिएको छ । बालमैत्री गाउँपालिका, सहयोगापेक्षी सडक मानवमुक्त गाउँपालिका, पुर्णखोपयुक्त गाउँपालिका, वातावरण मैत्री गाउँपालिका, जेष्ठ नागरिकको लागि निशुल्क धार्मीक तिर्थको व्यवस्था लगायतका कार्य गरिने एमालेको योजना छ ।
हेटौंडा सिमेण्ट उद्योगले सञ्चालन गरेको रोपवे र हेटौंडा हुँदै काठमाण्डौसम्म सञ्चालन भएको रोपवे विगत लामो समयदेखि बन्द रही जिर्ण अवस्थामा रहेकोले उक्त रोपवेहरूले जीउधनको जोखिम निम्त्याउने भएकोले तत्काल विस्थापनको लागि पहल गर्ने एमालले जनाएको छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्