मकवानपुरमा नेपाल कम्युनिस्ट पार्टी एमाले सबैभन्दा ठुलो पार्टी हो । पा“च वर्षअघिको चुनावी मत परिणाममा सबैभन्दा ठुलो पार्टीको पहिचान बनाएको एमालेलाई आगामी चुनावमा विरासत जोगाउनु सबैभन्दा बढी चुनौती देखिएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारको चर्चा चोकचोकमा सुरु भएको छ । नेताले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् ।

त्यसो त, एमालेलाई अब आगामी चुनावमा जिल्ला नेतृत्व गर्न धेरै चुनौती देखिएका छन् । पार्टीभित्रको परिस्थिति एकातिर छँदै छ, जनताबीच देखिएका असन्तुष्टि पनि चिर्नु छ । मकवानपुरमा पाँच वर्ष जिल्लाको १० मध्ये ८ स्थानीय तहमा एमालेले नेतृत्व ग-यो । यसबीच जनताको मन जितेर काम गरे/नगरेको चर्चाको विषय पनि छ ।

र, अर्को असन्तुष्टिको विषय हो, महिला उम्मेदवार । पार्टीभित्र असंख्य महिला अबको निर्वाचनमा ‘प्रमुख पद’को उम्मेदवार बन्ने आकांक्षामा छन् । पाँच वर्ष उपप्रमुख भएर कार्य अनुभव बनाएका महिला अबको निर्वाचनमा ‘प्रमुख’ भएर आफ्ना अनुभव पालिकामा लगाउन चाहन्छन् । के उनीहरूलाई ‘प्रमुख’ पदका लागि उम्मेदवार बन्न पार्टीले टिकट देला त ?

अघिल्लो स्थानीय तहमा अत्यधिक बहुमत ल्याएर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष जितेका महिला ‘अब पार्टीले प्रमुख पदका लागि टिकट दिनुपर्ने’ दाबी गर्दै छन् । पार्टी फुटे पनि एक उपप्रमुख र एक उपाध्यक्षमात्र नेकपा (एकीकृत समाजवादी) मा गएका छन् । अझै एमालेसँग ६ महिला उपाध्यक्ष, १ जिल्ला समन्वय उपप्रमुख महिला छन् । यीबाहेक अन्य नेतृ पनि छन्, जो स्थानीय तह प्रमुख पदकै दाबेदार छन् । मकवानपुरमा एमालेबाहेकका पार्टीमा स्थानीय तह हाक्नसक्ने नेतृ छन्, जो अबको निर्वाचनमा प्रमुख पदको दाबी गरिरहेका छन् । १० स्थानीय तहमध्ये महिलालाई ‘कुन कुन पालिका’ देला त ?

यस सन्दर्भमा पार्टीमा छलफल भइनसकेको एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ बताउँछन् ।
अवस्था के छ ?

कैलाश गाउँपालिका
मकवानपुर कैलाश गाउँपालिका उपाध्यक्ष विजयी सुकुमाया थिङ अहिले कार्यवाहक अध्यक्ष छिन् । अध्यक्ष टंक मुक्तानलाई मुद्दा लागेपछि उनले अध्यक्षको कार्य अनुभव सँगाल्ने अवसर पाएकी हुन् । आगामी ३० वैशाखको निर्वाचनमा थिङलाई अध्यक्ष बनाउने विषयमा कसैले कतै बोलेका छैनन् । केही साताअघि माओवादीबाट एमालेमा आएका र २०७४ मा माओवादीबाटै अध्यक्षका उम्मेदवार भएका नरेन्द्र रिजाललाई ‘गाउँपालिका अध्यक्ष दिनुपर्छ’ भन्ने चर्चा सुरु भएको छ । उपाध्यक्ष थिङकै वडा (वडा ९)मा दुई पुरुष बुद्ध लामा र श्याम उप्रेती गाउँपालिका अध्यक्ष दाबी गरिरहेका छन् ।

बकैया गाउँपालिका
मकवानपुरमा एमालेको सशक्त उपस्थिति भएको अर्को गाउँपालिका हो, बकैया । फरक पार्टी अध्यक्ष र उपाध्यक्ष हुँदा पनि पाँच वर्षको अवधिमा अध्यक्षसँग कुनै टकराव नभइ राम्रो काम भएको अर्को भूगोल पनि हो, बकैया । यहाँकी उपाध्यक्ष सरला बोलखे उमेरको हिसाबले जिल्लाकै ‘कान्छी’ उपाध्यक्ष हुन् । यसपटक उनी पार्टीबाट अध्यक्षकै दाबी गर्ने पक्षमा छिन् । तर, बोलखेको कार्य अनुवभ हेर्ने छाँटकाँट देखि“दैन । ‘बेला भएको छैन’ भन्दै यो गाउँपालिकामा उनीबाहेक ६ पुरुष अध्यक्षको चर्चामा छन् । बोलखे परिवारकै पुरुष उम्मेदवारसमेत अध्यक्षका आकांक्षी छन् ।

थाहा नगरपालिका

मकवानपुरको थाहा नगरपालिकामा अघिल्लोपटक एमालेको उपस्थिति प्रमुख/उपप्रमुख नै भएन । प्रमुखमा पराजित विष्णु दाहाल लामो समयसम्म पार्टीभित्रको विवादमा माधव नेपाल समूहमा रहे । पछि, पार्टी उपाध्यक्षकै हैसियतमा एमालेमै फर्किए । पार्टी अधिवेशनमा उम्मेदवारसमेत हुन नपाएका उनलाई अधिवेशनपछि जिल्ला सदस्य मनोनयन भएर थाहा इञ्चार्ज छन् । अबको मेयरको उम्मेदवारी एमालेबाट उनी हुने सम्भावना बलियो छ ।

हेटौंडा उपमहानगरपालिका
यद्यपि, एमालेबाट अघिल्लो निर्वाचनमा उपप्रमुख जितेकी र हाल नेकपा समाजवादीमा गएकी मिना लामाको भने केही सम्भावना देखिएको छ । उपमहानगरपालिकामा सामाजिक काम गरेर लामाको राम्रो छवि बनेको छ ।

नेकपा समाजवादीले निर्वाचनमा एक्लै भिड्न परेमा समाजवादी जिल्ला अध्यक्ष श्रीधर पोखरेल, केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य मुनु सिग्देल र लामामध्ये एकलाई मेयरको उम्मेदवार बनाउने र गठबन्धन भएमा लामालाई पुनः उपप्रमुखमै उठाउने तयारी गरेको छ ।

उपमहानगरमा एमालेबाट हालका मेयर हरिबोल महत, पूर्वसंविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाल, पार्टी अध्यक्ष एकालाल श्रेष्ठलगायत नेताको चर्चा छ । यद्यपि, अनेमसंघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको उपमेयरमा चर्चा छ । यसैगरी, एमालेका आरती पाठक, रमिला सापकोटा, सीता विष्टलगायत पनि दरिलो उम्मेदवार बन्न सक्छन्, उपमेयरमा ।

मनहरी गाउँपालिका

एमालेको अर्को शानदार जित भएको स्थानीय तह हो, मनहरी गाउँपालिका । यस पालिकामा पनि हालसम्म महिला अध्यक्ष हुने कुनै चर्चा छैन । यहा“ उपाध्यक्ष मनिला विष्ट पार्टी विभाजनपछि नेकपा समाजवादीमा छिन् । नेकपा समाजवादीले पनि उनलाई अध्यक्ष बनाउने विचार सार्वजनिक गरेको छैन । अहिले एमालेबाट एकराज उप्रेती पुनः अध्यक्षमा दोहोरिनका लागि बलिया उम्मेदवार हुन् ।

राक्सिराङ गाउँपालिका

एमाले पराजित भएको राक्सिराङ गाउँपालिकामा एमालेले महिलालाई अध्यक्ष बनाउने कुनै चर्चा छैन । हार्ने ठाउँमा महिलालाई दिने परिपाटी विकास पार्टीभित्र पनि भएकाले यहाँ महिलाले उम्मेदवारीका लागि टिकट पाउने सम्भावना कम रहेको जिल्लास्तरकी एक नेतृले बताइन् ।

यद्यपि, गाउँपालिकाभरको सबैभन्दा प्रभावशाली पुरुष उम्मेदवारलाई अध्यक्षमा एमालेले अघि बढाउने देखिएको छ । सरिखेत पलाँसे अर्थात् वडा ३ का बाबुलाल स्याङ्तान अध्यक्षको चर्चामा छन् । उपाध्यक्षमा सुन्तली चेपाङको चर्चा छ तर अध्यक्षमा महिला उठाउने कुरा एमालेभित्र गौण छ ।

भिमफेदी गाउँपालिका

मकवानपुर भिमफेदी गाउँपालिका एमालेको पक्कडवाला अर्को स्थानीय तह हो । यसपटक पनि एमालेले अध्यक्षमा महिला उम्मेदवार बनाउने विषय चर्चामा छैन । मकवानपुरकी चर्चित नेतृ पार्वती राना उपाध्यक्ष रहेको गाउँपालिकामा उनैले अध्यक्षकै दाबी गरिरहेकी छन् । तर, पार्टीले उनलाई अध्यक्षको टिकट दिने सम्भावना बलियो छैन ।

हालका अध्यक्ष हिदम लामा नै दोहोरिने सम्भावना रहेकाले रानाको सम्भावना कम छ । रानाले पार्टी जिल्ला अधिवेशन उपसचिव दाबी गर्दा पनि हिदम लामा नै पार्टी उपसचिव बनाएर रानालाई पाखा लगाएको आरोप छ ।

मकवानपुरगढी गाउँपालिका

हाल, मकवानपुरगढी गाउँपालिकामा उपाध्यक्ष एमालेकै हर्कमाया रुम्बा छिन् । एमालेबाटै विजयी अध्यक्ष विदुर हुमगाईसँगको समन्वयमा स्थानीय विकास र पार्टीको काममा राम्रै अनुभव बनाएकी रुम्बा पनि आगामी निर्वाचनमा अध्यक्षमा उठ्नसक्ने अब्बल महिला नेतृत्व हुन् । तर, पार्टीभित्र र स्थानीय तहमा हालमै अध्यक्ष हुमागाईंकै चर्चा छ ।

बाग्मती गाउँपालिका

अघिल्लो निर्वाचनमा बाग्मती गाउँपालिका अध्यक्षमा एमाले पराजयी भएको थियो । तर, उपाध्यक्षमा एमालेकै धनमाया स्याङतान विजयी भइन् । पाँच वर्षे कार्यकाल सफल भइरहँदा बाग्मती गाउँपालिकामा अध्यक्षका उम्मेदवारमा एमालेले राजकुमार तिमिल्सिना, खेम जर्गा, नरबहादुर घलान, उत्तम पौडेलको नाम चर्चामा छ । उपाध्यक्षबाट अनुभवी धनमायाले अध्यक्षको टिकट पाउने सम्भावना छैन ।

इन्द्रसरोवर गाउँपालिका

इन्द्र सरोवर गाउँपालिका अध्यक्ष जीवन लामा एमालेबाट निर्वाचित हुन् । तर, पार्टी विभाजनपछि उनले समाजवादी रोजे । यद्यपि, उपाध्यक्ष उमाकुमारी लामा एमालेमै छिन् । पा“च वटामात्रै वडा रहेको यो गाउँपालिकामा पनि एमालेले महिला उम्मेदवार बनाउने चर्चा छैन । पुरुष उम्मेदवारकै चर्चा छ ।

जिल्ला समन्वय समिति

स्थानीय तह निर्वाचनपछि बन्ने जिल्ला समन्वय समिति मकवानपुरमा उपप्रमुख हाल भगवती पुडासैनी छिन् । एक उपमहानगर, एक नगर र ८ गाउँपालिकामा महिला मेयर र अध्यक्षको चर्चा नभएजस्तै जिल्ला समन्वय समितिमा पनि महिला उम्मेदवारी’bout कुनै चर्चा छैन । ‘उप’ पदबाटै महिलालाई बिदाइ गर्ने परीपाटी दलभित्रको रोग नै भएको प्रतिक्रिया दिन्छिन्, पुडासैनी । ‘क्षमता र योग्यता भए पनि हम्मेसी पहिलो पदमा महिलाले दाबी नै गर्दैनन्,’ उनी भन्छिन्, ‘आँट गरेर दाबी गर्दा पनि पार्टीले अवसर दिँदैन । नीति निर्माणमा होस् वा जस्तोसुकै काममा, महिला सफल भएकै छन् तर उपबाटै विदाइ गरिन्छ, यो राम्रो हैन ।’

महिला नेतृत्वमा अब्बल उम्मेदवार र जनप्रतिनिधि बनाउन सफल एमालेको तत्कालीन नेतृत्व लोभलाग्दो थियो । पार्टीले अवसर दिएमा आफूहरूले जित्न सक्ने दाबी महिलाले गरिरहेका छन् । यद्यपि, महिलाका लागि पार्टी सकारात्मक देखिएको पाइन्न । पहिलो पार्टी एमालले मात्रै हैन, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादीबाट महिला उम्मेदवारको चर्चा नै छैन । कांग्रेस नेतृहरू इन्दिरा न्यौपाने, लक्ष्मी श्रेष्ठ, रिता खनाल, माओवादीमा लक्ष्मी माझीलगायत पनि उम्मेदवार बन्नसक्ने नेतृ हुन् ।

स्थानीय तहमा अनुभवीले नै टिकट पाउने सम्भावना नभएपछि दलहरूले अबको चुनावमा नयाँ आउने नेतृत्वमा एकै पटक पहिलो पदका लागि टिकट दिने सम्भावना झनै रहेन । राजनीतिमा महिला अग्रसरताका लागि क्षमता विकास र टिकाउन पार्टीले जुन रूपमा भाषणा र घोषणापत्रमा बोल्ने गरेको छ, त्यसको कार्यान्वयन कुनै पनि पार्टीमा नभएको प्रष्ट देखिन्छ । कानुनले अनिवार्य समावेशी तोकेपछि उपप्रमुख अर्थात् सहायक पदमा मात्रै महिलालाई सीमित गर्न खोजिएकोमा पार्टीभित्र संघर्ष गर्नुपर्ने बताउँछिन् अधिकारकर्मी रेणु अधिकारी ।

‘प्रमुख पदमा रहेका पुरुषको सहयक बनेर सघाउने मात्रै महिला हैनन्, आफैं पनि जिम्मेवारी लिन सक्छन्,’ महिला मानव अधिकार रक्षक अधिकारी भन्छिन् ।

-सरिता दाहाल, राजधानी दैनिकबाट ।

पालिका प्रेस
थप जानकारी