बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला नगर प्रमुख (मेयर) पाएको छ । लामो समय एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा विजयी भएकी हुन् ।

यो समाचार तयार पार्दासम्म केही मत गणना गर्न बाँकी रहेको छ । गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मतले प्रतिस्पर्धी उम्मेदवारहरुलाई पछि पारेपछि लामा विजयी भएकी हुन् । अब सबै मत उनको विपक्षमा आएपनि उनी पराजित हुने अवस्था छैन । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक मत परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपप्रमुखको रुपमा भारी मतले विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादीमा रहेकी उनले गठबन्धनको तर्फबाट उम्मेदवार थिइन् ।

उनका प्रतिस्पर्धी रहेका एमालेका अनन्तप्रसाद पौडेल र राप्रपाका दीपकबहादुर सिंहले क्रमश दोस्रो र तेस्रो स्थान हाँसिल गरेका छन् । सुरुवाती मतगणनामा पौडेल अगाडि भए त कहिले सिंहको अनेपेक्षित मतले हेटौंडाको चुनावी माहौल तताएको थियो । एमालेको लालकिल्ला मानिएको नगरका वडाहरुका अपेक्षित मत एमालेलाई आउन नसकेपछि पौडेल पछि परेका हुन् ।

अघिल्लो कार्यकालमा उपप्रमुख भएर काम गरेकी लामालाई नगर प्रमुख भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने अवसर प्राप्त भएको छ । हेटौंडाको पहिलो महिला मेयर भई उत्कृष्ठ कार्य सम्पादनबाट हेटौंडाको मुहार फेर्न लामा कतिको सफल हुने छिन् त्यो हेर्न बाँकी नै छ ।

त्यस्तै उपमेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । प्राप्त मतका आधारमा उनका प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्ले र राप्रपाकी इन्दिरा डल्लाकोटी क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

को हन् लामा ?

बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा जन्म भएको मीना कुमारी लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो ।

२०४६ सालबाट विद्यार्थी जीवनबाट नै राजनितीमा यात्रा सूरु गरेर हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडी बढिन् ।

२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासंग विवाह भयो ।

श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीति संगै अघि बढेकी मीना २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप(सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरिन् ।

२०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भएकी हुन् ।

लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको हो ।

-तु-खबरबाट

पालिका प्रेस
थप जानकारी