सहरको व्यस्थतापूर्ण दैनिकीबाट केही समय सुस्ताउने मन जो कोहीलाई हुन्छ । काठमाडौंको कोलाहल वातावरण होस या कतै घुम्न जान खोज्नेका लागि उपयुक्त विकल्प मकवानपुर थाहानगरको दामन हुन सक्छ । काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै भित्रुवन राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ ।
चन्द्रागिरि हुँदै चित्लाङको कच्ची बाटोबाट जाने हो भने त त्यसको आधा समयमै पुगिन्छ । यस्तै दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टौखेल हुँदै बज्रवाराही निस्केर अर्को वैकल्पिक बाटो छ । हेटौंडाबाट करिब ५० किलोमिटर पार गरेपछि दामन पुगिन्छ ।
दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत खुलेका बखत सर्वोच्च शिखर सगरमाथा समेत हेर्न सकिन्छ । दुई हजार ३ सय २२ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ । बागमती प्रदेश राजधानी हेटौंडा तथा नजिकैका सहरहरु वीरगञ्ज, चितवनलगायत तराई क्षेत्रबाट फरक हावापानीको अनुभव लिन दामन उक्लने युवायुवती बग्रेल्ती भेटिन्छन् । हिउँदमा हिउँ परेर दामन सेताम्मे हुन्छ ।
दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाट चन्द्रागिरि हँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ । दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् । दामन तथा सिमभन्ज्याङमा सुविधा सम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ ।
ग्रामीण जीवनशैलीको आनन्द उठाउने हो भने टिस्टुङ, पालुङमा होमस्टे सुविधा पनि छन् । थाहा नगरपालिकामा पर्नेे दामन, टिस्टुङ, बज्रवाराही, चित्लाङ, आग्रा र पालुङ क्षेत्र पर्यटनका आकर्षण हुन् । दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा लाग्ने जात्रा भर्न हजारौं श्रद्धालु पुग्छन् ।
दामनमा सबैभन्दा महत्वपूर्ण कुरा मौसम छ । त्यो पनि सदाबहार। गर्मीमा पनि दामनमा चिसो मौसम हुन्छ । दामनबाट हेर्दा वरिपरीका गाउँ रमाइला छन्। घरको अवस्थिती आफैँमा सुन्दर छन् । डाँडा र वन जंगल यति सुन्दर लाग्छ, दामनलाई कसैले पनि प्रभावित गर्न सक्दैन। दामनको बाटो पनि आफैँमा सुन्दर छ।
दामनमा सेतो लालीगुराँस पनि पाइन्छ । जुन अर्को आकर्षक कुरा हो । दामन घुमघाम, हाइकिङ, ट्रेकिङका हिसाबले धेरै महत्वपूर्ण छ । पुराना घर, गाउँको परिवेश, सुविधासम्पन्न होटल तथा रिसोर्ट दामन सजावटका थप विशेषता हुन्।
दामनभन्दा केही उचाईमा सिमभन्ज्याङ पास छ । त्रिभुवन राजपथको सबैभन्दा उचाई र जिल्लाकै सबैभन्दा अग्लो क्षेत्र सिमभन्ज्याङ हो । दामन घुम्न आउने पर्यटकहरु एक पटक सिमभन्ज्याङ नपुगी फर्किदैनन् । यहाँ पर्यटन सूचना केन्द्रका साथै थुप्रै घुम्ने ठाउँ छन् । नजिकैको पर्वतीय ताल, बुद्ध पार्क, तारेभीरबाट सुर्यास्तको दृश्य, जंगल सयर लगायत थुप्रै घुमफिर गर्ने स्थानहरु छन् । यस्तो प्राकृतिक सम्पदाले भरीपूर्ण दामन–सिमभन्ज्याङ घुम्न जाने हैन त ?
हेनुहोस दामन र सिमभनज्याङ क्षेत्रका केही फोटोहरुः







































































विशाल रायमाझी 










प्रतिक्रिया दिनुहोस्