मकवानपुरको बकैया गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाको सिमानाबाट बग्ने बागमती नदीको सतह बढेपछि नदी तटीय बस्ती, खेतीयोग्य जमिन र पुल जोखिममा परेको छ । स्थानीयका अनुसार नदीमा ढुङ्गा, गिट्टी, बालुवा र माटो थुप्रिँदै जाँदा नदीको बहाब साँघुरिएको र बर्खायाममा बाढीको जोखिम बढेको हो ।
जोखिममा पर्ने क्षेत्रमध्ये ललितपुरको बागमती गाउँपालिका–४, खैरघारी र मकवानपुरको बकैया गाउँपालिका–१०, घैँटार जोड्ने बागमती पुल पनि रहेको छ । बकैयाका स्थानीय रूपेन घलेका अनुसार हेटौँडा–काठमाडौँ द्रुतमार्ग आयोजनाको सुरुङ निर्माणका क्रममा निस्किएको माटो जथाभाबी थुपारिँदा वर्षासँगै नदीमा पुगेर जम्मा भएको र त्यसका कारण नदीको सतह उक्लिएको हो । यसअघि यस्तो समस्या नभएको भन्दै उहाँले अहिले नदीआसपासका बस्ती, खेतीयोग्य जमिन र पुल नै उच्च जोखिममा परेको बताए ।
स्थानीयका अनुसार ललितपुरको बागमती गाउँपालिका–४, ५ र ७ का खैरघारीबेँसी, धनडाँडाबेँसी र आस्राङबेँसी तथा मकवानपुरको बकैया गाउँपालिकाका घैँटारबेँसी, ठिंगनबेँसी फाँट, केराबारीबेँसी, चनथलीबेँसी, धुवाँकोट र तीनभङ्गाले क्षेत्र बढी प्रभावित हुन सक्ने अवस्थामा छन् । स्थानीयले नदी सफाइ र बहाब व्यवस्थापन गर्न सके जोखिम कम हुने बताएका छन् । हाल बर्खायामका कारण नदीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ ।
बकैया गाउँपालिका–१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईंले द्रुतमार्ग निर्माणका व्रmममा निस्किएको माटो नदीमा थुप्रिँदा समस्या बढेको बताए । उनका अनुसार नदीको सतह थप बढेमा वडा नं. १२ का करिब ४५ घरपरिवार विस्थापित हुन सक्ने जोखिम छ । बकैया गाउँपालिका–१० की वडाध्यक्ष कमला वाइबाले नदीमा गिट्टी, बालुवा र माटो थुप्रिएकाले पुलमुनिबाट पानी सहज रूपमा बग्न नसक्ने अवस्था रहेको बताए । समयमै व्यवस्थापन नगरिए बर्खायाममा पानी पुलमाथिबाट बग्न सक्ने र वडाका करिब २५ घरधुरी उच्च जोखिममा पर्ने उनको भनाइ छ । स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको पनि उनले जानकारी दिए । बागमती गाउँपालिका–४, खैरघारीका स्थानीय केशव सापकोटाले द्रुतमार्ग निर्माणका क्रममा उत्खनन भएको माटो नदीको बगरमा थुप्रिँदा बगर अग्लिएको र बस्ती जोखिममा परेको छ । बजार क्षेत्रबाट टाढा तथा भौगोलिक रूपमा विकट भएकाले थुप्रिएको ढुङ्गा, गिट्टी र बालुवाको व्यवस्थापन हुन नसकेको उनले बताए ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन भण्डारीले बागमती नदीमा बर्खायाममा पानीको बहाब अत्यधिक हुने भएकाले अहिले मेसिन प्रयोग गरेर नदी सफा गर्न सम्भव नभएको बताए । उनले बर्खायामअघि वा पछि नदीमा थुप्रिएको ढङ्गा, गिट्टी र बालुवा हटाएर बहाब व्यवस्थापन गर्न सकिने बताए । बर्खायाममा स्थानीयले सतर्कता अपनाई सुरक्षित रहनुको विकल्प नरहेको उनको भनाइ छ ।
गत वर्ष असोज ११ र १२ गते आएको बाढीमा यस क्षेत्रका छ परिवार विस्थापित भएका थिए भने नदी कटानका कारण खेतीयोग्य जमिन र धानबालीमा क्षति पुगेको थियो । स्थानीय जनप्रतिनिधिले समस्या समाधानका लागि स्थानीय तहबाट पहल भइरहेको जनाउँदै दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारको समन्वय आवश्यक रहेको बताएका छन् । गोर्खापत्रबाट ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्