मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोटेकोशी नदीको बाढीबाट प्रभावित भएकाहरूका लागि ३० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि गाउँपालिकाले कुल ३० लाख ६२ हजार ५३९ रुपैयाँ सहयोग गर्ने भएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विपद् कोषमार्फत उक्त रकम संकलन गरिएको हो । विद्यालय शिक्षक तथा कर्मचारीहरूबाट १२ लाख ८० हजार ११६ रुपैयाँ, पालिका, वडा तथा स्वास्थ्य संस्थाका कर्मचारीहरूको तर्फबाट ८ लाख ५४ हजार ७५७ रुपैयाँ, गाउँपालिका विपद् व्यवस्थापन कोषबाट ६ लाख ५० हजार रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिहरूबाट २ लाख २७ हजार ६६६ रुपैयाँ र तीज विशेष कार्यक्रम खर्च कटौतीबाट ५० हजार रुपैयाँ सहयोग भएको छ ।

बाढीका कारण ज्यान गुमाउनेहरूप्रति गाउँपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै विपद्को यस कठिन घडीमा पीडित नागरिकको उद्धार तथा पुनस्र्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै पालिकाले सबैलाई एकजुट भएर सहयोग गर्न अपिल समेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी