रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत तथा पुनस्र्थापनाका लागि हेटौंडा उपमहानगरपालिका क्षेत्रका ६२ वटा टोल विकास संस्थाले १८ लाख ८६ हजार ६ सय ४ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार राहत कोषमा जम्मा गरेका छन् । २५ भाद्र दिउँसो टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडाले प्रमुख जिल्ला अधिकारी मार्फत् जानकारी गराउँदै भदौ २५ गतेसम्म यो रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको जनाएको हो ।

समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीकाअनुसार विपद्को कठिन घडीमा मानवीय सेवाको भावनासहित हेटौंडाका विभिन्न टोल विकास संस्थाले स्वस्फूर्तरुपमा सहयोग रकम संकलन गरेका हुन् । संकलित रकमको पारदर्शिता र सार्वजनिक जानकारी सुनिश्चित गर्न सहयोग गर्ने सबै संस्थाको विवरण सार्वजनिक गरिएको उनले बताए । सहयोग गर्ने संस्थामध्ये कालिकामाई टोल विकास संस्था, हेटौंडा–८ ले सबैभन्दा बढी १ लाख १८ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको छ ।

त्यसैगरी विजयशान्ति टोल विकास संस्था, हेटौंडा–२ ले १ लाख १ हजार १ सय ११ रुपैयाँ, जिम्बाडाँडा टोल विकास संस्था, हेटौंडा–११ ले ९५ हजार रुपैयाँ, ओमनगर टोल विकास संस्था, हेटौंडा–८ ले ७९ हजार ९ सय ६० रुपैयाँ तथा बिन्ध्यबासिनी टोल विकास संस्था, हेटौंडा–८ ले ७० हजार २१ रुपैयाँ सहयोग गरेका छन् । समितिले विपद्प्रभावित नागरिकको उद्दार, राहत र पुनस्र्थापनामा सहयोग पु¥याउन आर्थिक सहयोग गर्ने सम्पूर्ण टोल विकास संस्था, पदाधिकारी, सदस्य तथा सहयोगीलाई धन्यवाद व्यक्त गरेको छ ।

हेटौंडाका टोल विकास संस्थाले जुटाएको यो सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार राहत कोषमार्फत् बाढीप्रभावित क्षेत्रमा खर्च गरिने जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी