भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिकाका ४ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । बेपत्ता भएको ३३ दिनसम्म जीवित/मृत केही भेटाउन नसकेपछि निराश भएका कुशको शव बनाएर धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरेका हुन् ।

थाहा नगरपालिका–३ र २ वडाको संगमस्थल शंखमुलमा कुशको शव बनाएर मंगलबार दाहसंस्कार गरिएको हो । थाहा नगरपालिका—३ घरभएका नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत जमदार प्रदीप बर्तौलाको अन्त्येष्टिमा सेनाको टुकडीले सलामीसमेत दिएको थियो । ‘छोराको फोन आउला, कसैले भेटेको खवर आउला भनेर प्रतिक्षा गर्दागर्दै ३३ दिन बितिसक्यो, अब कति कुर्ने भनेर परम्परा अनुसार दाहसंस्कार गरियो,’ प्रदीपका बुवा गणेश बर्तौलाले भने । गणेशका ४४ वर्षीय छोरा प्रदीप रस्वुाको टिमुरेबाट बाढीमा बेपत्ता भएका थिए । भदौ १० को बिहान ८ बजे उनले परिवारसँग फोनमा कुरा गरेका थिए । त्यसयता उनी सम्पर्कविहीन छन् । उनी २०५८ सालमा सैनिकमा भर्ती भएका थिए ।

भोटेकोशी बाढीमा सम्पर्कविहीन रहेका थाहा–३ का २७ वर्षीय प्रशान्त कार्कीको पनि मंगलबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । आफ्नै कन्टेनर लिएर सामान ढुवानीका लागि कार्की भदौ ४ गते घरबाट रसुवा गएका थिए ।

काठमाडौंको सामान लोड गरेर आउने बताएका कार्कीले भदौ ९ गते बेलुका ६६ वर्षीय बावु ओमबहादुर कार्कीलाई सम्पर्क गरेका थिए । कान्छा छोरा प्रशान्तको खोजीमा बावु ओमबहादुर चितवन, पोखरा, नुवोकाट र काठमाडौंका अस्पतालहरुमा समेत पुगे । छोराको अत्तोपत्तो नलागेपछि निराश भएर घर फर्केका कार्कीले भने,‘परम्परा र संस्कार अनुसार चल्न परि गो भनेर कुशको शव बनाएर दाहसंस्कार गरेर काजकिरिया गर्न लागेको ।’

बाढीपछि टिमुरेबाट बेपत्ता भएका थाहा—६ बज्रवराहीका काका भतिजा नाता पर्ने रन्जन अधिकारी र रेलबहादुर अधिकारीको पनि सोमबार कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । ४० वर्षीय रन्जनको आफ्नै कन्टेनरमा रसुवाबाट सामान ढुवानी गर्थे । बाढी आउनुअघि सोही दिन बिहान रन्जनले बावुसँग सम्पर्क गरेका थिए । ४६ वर्षीय रेलबहादुर पनि कन्टेनर लिएर टिमुरे पुगेका थिए । उनी त्यहाँ पुगेको भोलिपल्ट भोटेकोशी बाढी आएको हो । बाढीपछि उनीहरु सम्पर्कविहीन थिए । महिनादिन कुर्दासम्म केही खबर नआएपछि दुवै जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको आफन्त जगदीश उप्रेतीले बताए । भोटेकोशी बाढीपछि मकवानपुरका ५८ जना सम्पर्कविहीन छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिकाका २१ जना सम्पर्कविहीन छन् भने तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । थाहा नगरपालिकाका २० जना, मनहरी गाउँपालिकाका चार जना, मकवानपुरगढी गाउँपालिकाका तीन जना सम्पर्कविहीन छन् । यसैगरी भीमफेदी गाउँपालिकाका दुई जना सम्पर्कविहीन र एक जनाको मृत्यु भएको प्रशासनले जनाएको छ ।

बकैया गाउँपालिकाका तीन जना, इन्द्रसरोवर गाउँपालिकाका दुई, कैलाश गाउँपालिकाका दुई र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा छ । मकवानपुरको स्दुूरपूर्वमा पर्ने बागमती गाउँपालिकाबाट भने कोही पनि प्रभावित नभएको प्रशासनको विवरण छ । बाढीमा सम्पर्कविहीनमध्ये ४१ जना चालक, १६ जना मजदुर र एक ईन्जिनियर रहेको प्रशासनको विवरणमा छ ।

भोटेकोशी बाढीमा फसेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको छ । रसुवा र नुवाकोटको विभिन्न क्षेत्रबाट उनीहरुको उद्धार गरिएको थियो । बाढीमा मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ । हालसम्म सनाखत भएका मृतकमा हेटौंडा–१५ का सुमन गोले, हेटौंडा–५ का उद्धव खड्का, हेटौंडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना रहेका छन् । प्रशासनले सम्पर्कविहीनहरुको खोजसंगै उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जनाएको छ ।

पालिका प्रेस
थप जानकारी