तस्बिरः पानी खाने ठाउँ र अन्य निर्माण हुदै ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक चौर (हुप्र) लाई प्रदेशकै उत्कृष्ट खुला चौरका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण, सरसफाइ तथा पूर्वाधार सुधारका काम अघि बढाइएको छ ।

प्रदेश राजधानी हेटौँडाको मुख्य सहरी क्षेत्रमा रहेको प्रमुख खुला स्थानका रूपमा रहेको लोकतान्त्रिक चौरलाई व्यवस्थित, सफा, सुन्दर र सुरक्षित बनाउने उद्देश्यले विभिन्न कामहरू सम्पन्न भइसकेका छन् भने थप योजना कार्यान्वयनको क्रममा रहेका छन् । हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले लोकतान्त्रिक चौरलाई प्रदेशकै उत्कृष्ट खुला चौर बनाउने लक्ष्यसहित काम भइरहेको बताए । उनका अनुसार चौरको नियमित सरसफाइ, मर्मत तथा रंगरोगन, ज्येष्ठ नागरिक कक्ष निर्माण, हिँड्ने ट्याङ्की निर्माण, निःशुल्क शौचालय निर्माण तथा सञ्चालन, खुला जिमको व्यवस्थापन र हाईमास्ट बत्ती जडानलगायतका काम सम्पन्न भएका छन् ।

“लोकतान्त्रिक चौरको संरक्षण र व्यवस्थापन गर्दै यसलाई सफा, सुन्दर र सुरक्षित बनाउनु हामी सबैको कर्तव्य हो,” वडा अध्यक्ष सिग्देलले भने । चौरलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउन गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने, खुला जिमका सामग्री मर्मत तथा थप गर्ने, विभिन्न स्थानमा सुविधाजनक बस्ने स्थान निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने तथा चौरलाई थप आकर्षक बनाउने कामसमेत अघि बढिरहेको उनले जानकारी दिए।

दैनिक हजारौँ मानिसको आवतजावत तथा विभिन्न गतिविधि हुने लोकतान्त्रिक चौर हेटौँडाको महत्वपूर्ण सार्वजनिक स्थलका रूपमा स्थापित हुँदै गएको वडा अध्यक्ष सिग्देलको भनाइ छ । चौरलाई दीर्घकालीन रूपमा स्वच्छ, सुरक्षित र व्यवस्थित राख्न स्थानीय सरकारको प्रयाससँगै नागरिकको सहयोग र सहभागिता पनि आवश्यक रहेको उनले बताए।

लोकतान्त्रिक चौरमा बिहान–बेलुका हिँडडुल गर्ने, व्यायाम गर्ने, ज्येष्ठ नागरिकले समय बिताउने तथा विभिन्न सार्वजनिक गतिविधि सञ्चालन गर्ने नागरिकको संख्या बढ्दै गएको छ। त्यसलाई मध्यनजर गर्दै चौरको भौतिक पूर्वाधारसँगै वातावरणीय सौन्दर्य र नागरिक सुविधामा समेत ध्यान दिइएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले चौरको संरक्षणलाई केवल भौतिक संरचना निर्माणमा सीमित नराखी नियमित सरसफाइ, हरियाली संरक्षण, नागरिक सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणसँग जोडेर अघि बढाउने जनाएको छ । आगामी दिनमा थप आवश्यक संरचना र सुविधा विस्तार गर्दै लोकतान्त्रिक चौरलाई हेटौँडाको आकर्षक तथा व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

पालिका प्रेस
थप जानकारी