बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको मंसिर महिनासम्मकोे तथ्यांक हेर्दा चितवन र मकवानपुर जिल्लामा सबैभन्दा बढी बालबालिका हराएका छन्। काभ्रे, धादिङ र सिन्धुली जिल्लामा बढी संख्या रहेको छ भने रसुवा र रामेछापमा भने तुलनात्मक रूपमा बालबालिका हराउने घटना न्यून देखिएको छ।

चितवन जिल्लामा मात्र आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको मंसिरसम्म ५ सय ३३ जना बालबालिका हराएको प्रहरी तथ्यांक छ। उक्त वर्षहरूमा हराएका बालबालिकामध्ये ५ सय १७ जना बालबालिका फेला परे पनि १६ जना बालबालिका अझै सम्पर्कविहीन अवस्थामा रहेको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।
चितवनमा आर्थिक वर्ष २०७९/०८० मा बालक ३४ जना र बालिका १ सय ५ जना गरी १ सय ३९ बालबालिका हराएका थिए। आर्थिक वर्ष २०८०/०८१ मा ३१ जना बालक र १ सय १७ जना बालिका गरी १ सय ४८ जना बालबालिका हराएका थिए। यस्तै, वर्ष २०८१/०८२ मा ४८ जना बालक र १ सय २९ जना बालिका गरी १ सय ७७ जना बालबालिका हराएका थिए। चालु आर्थिक २०८२/०८३ को साउन महिनादेखि मंसिरसम्म ५ महिनाको अवधिमा १८ बालक र ५१ बालिका गरी ६९ जना बालबालिका हराइसकेका छन्। जसमध्ये प्रहरीले १५ जना बालक र ४३ जना बालिका गरी ५८ जना हराएका बालबालिका फेला पारे पनि अझै ३ जना बालक र ८ जना बालिका गरी ११ जना बालबालिका फेला पार्न सकेको छैन।

मकवानपुर जिल्लामा मात्र आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनासम्म बालक ८३ जना र बालिका २ सय ७० जना गरी ३ सय ५३ जना बालबालिका हराएका थिए। जसमध्ये प्रहरीले बालक ८२ जना र बालिका २ सय ४१ जना फेला पारे पनि अझै ७ जना बालबालिका फेला पार्न सकेको छैन। मकवानपुरमा आर्थिक वर्ष २०७९/०८० मा बालक ३४ जना र बालिका ८५ जना गरी १ सय १९ जना बालबालिका हराएका थिए। जसमध्ये उक्त वर्ष प्रहरीले राम्रै सफलता हात पा¥यो। आर्थिक वर्ष २०८०/०८१ मा १९ बालक र ८४ जना बालिका गरी १ सय ३ जना बालबालिका हराए जसमध्ये प्रहरीले १८ बालक र ८४ जना बालिका गरी १ सय २ जना हराएका बालबालिका फेला पा¥यो। यस्तै, २०८१/०८२ मा २३ बालक र ७१ बालिका गरी ९४ जना बालबालिकाहरू हराएको प्रहरीको तथ्यांक रहेको छ।

चालु आर्थिक वर्षको ५ महिनामा मकवानपुरमा ७ बालक र ३० बालिका गरी ३७ जना बालबालिका हराएका छन्। सिन्धुली जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म बालक ४४ जना मात्र हराउँदा बालिकाहरूको संख्या भने बालकको संख्याको तुलनामा तेब्बरभन्दा बढी १ सय ६० जना रहेका छन। उक्त वर्षहरूमा बालक र बालिका गरी २ सय ४ जना बालबालिकाहरू हराएका थिए। यद्यपि, प्रहरीले सिन्धुलीमा हराएका ती बालबालिकाहरूमा अधिकांश फेला पारेको छ। प्रहरीले हराएका बालबालिकाहरूमध्ये ४३ जना बालक र १ सय ५९ जना बालिका गरी २ सय २ जना बालबालिका फेला पारेको छ। भने हराएमध्ये १ बालक र १ बालिका गरी २ जना बालबालिका भने अझै फेला परेका छैनन्।

रामेछाप जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म बालक १८ जना बालक र ३१ जना बालिका गरी ४९ जना बालबालिका हराएका छन्। जसमध्ये अंधिकांश फेला परे पनि १ बालक र १ बालिका गरी २ जना अझै फेला परेका छैनन्। दोलखा जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म बालक ४१ जना र बालिका ४२ जना गरी ८३ जना बालकबालिका हराएका थिए। जसमध्ये ४० बालक र ४२ जना बालिका गरेर ८२ जना बालबालिका फेला परे पनि १ जना बालक अझै फेला परेको छैन।

काभ्रे जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म बालक ५४ जना र बालिका १ सय ५२ जना हराएका थिए। जसमध्ये ५३ बालक र १ सय ४९ जना बालिका फेला परेको भए पनि अझै १ बालक र ३ बालिका गरी ४ जना बालबालिका फेला पर्न नसकेको प्रहरीको तथ्यांक रहेको छ। काभ्रे जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ९ बालक र ४८ जना बालिका गरी २३ जना बालबालिका हराएका थिए। जसमध्ये ९ बालक र ४७ जना बालिका फेला परे पनि १ जना बालिका फेला परिनन्।

सिन्धुपाल्चोक जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म २७ बालक र ८१ बलिका गरी १ सय ८ जना बालबालिका हराए। जसमध्ये २६ बालक र ७९ बालिका फेला पर्दा १ बालक र २ बालिका गरी ३ जना फेला पर्न सकेन्न। नुवाकोट जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनासम्म बालक २८ जना र बालिका १ सय १४ जना गरी १ सय ४२ जना बालकालिका हराएका छन। जसमध्ये २७ बालक र १ सय १३ जना बालिका गरी १ सय ४० जना बालबालिका फेला परे तर २ जना बालक अझै फेला परेका छैनन्।

धादिङ जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म ३२ जना बालक र ९७ जना बालिका गरी १ सय २९ जना बालबालिका हराए। जसमध्ये ३१ बलक र ९४ जना बालिका फेला परेपनि अझै ४ जना बालबालिका फेला परेका छैन्न। ती फेला नपरेका ४ जना बालबालिकामध्ये १ बालक र ३ बालिका रहेका छन्। रसुवा जिल्लामा आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म ४ बालक र १९ बालिका गरी २३ जना बालबालिका हराए। जसमध्ये ३ बालक र १८ बालिका फेला परे भने १ /१ बालक र बालिका फेला परेका छैनन्।

–अन्नपूर्णपोष्ट

 

पालिका प्रेस
थप जानकारी