थाहा नगरपालिकाको टिष्टुङमा आगामि तीन वर्षका लागि सञ्चालन हुने ‘आमा’ परियोजनाको जानकारी तथा अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रम जागृति बाल तथा युवा सरोकार केन्द्रको आयोजनामा भएको हो । थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक दिनेश बलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जलवायुमैत्री कृषि एवं पोषण बगैचा सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि गरिएको छ ।

कार्यक्रमको अवसरमा नागरिकहरुको आयस्तर वृद्धिका लागि सञ्चालन हुन लागेको परियोजनालाई सफल बनाउन सबै तहबाट एकीकृत रुपमा लाग्नुपर्ने वडाध्यक्ष बलले बताए । उनले किसानहरुका लागि खानेपानी र सडक पहुँचका लागि आफूले काम गर्दै आएको बताउँदै अब पर्यटन र कृषितर्फ पनि योजना तर्जुमा र कार्यान्वयका लागि अघि सर्ने बताए । थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले गैरसरकारी संस्था स्थानी सरकारको कामलाई प्रवद्र्धन गर्नका लागि सहयोगी सावित हुने बताए । लामिछानेले पालिकामा काम गर्ने गैर सरकारी संस्थाहरुसँग सहकार्य हुने बताए । थाहानगरको पर्यटन शाखा प्रमुख सुरज कुमार भुजेलले नागरिकबाटै माग भएका योजना दिगो हुने बताउँदै आवश्यकतामा आधारित योजनाहरुलाई मुर्तरुप दिन स्थानीय तह सहकार्यका लागि तयार हुने बताए । शाखा प्रमुख भुजेलले जलवायुमैत्री कृषि एवं पोषण बगैचासँग सम्बन्धीत कार्यक्रमले नागरिकको भान्सादेखि भविष्यसम्मलाई सहयोग पु¥याउने उल्लेख गरे ।

कार्यक्रममा टिष्टुङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष किरणमान बलले टिष्टुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । थाहा–११ का पूर्व वडाध्यक्ष समेत रहेका बलले आफ्नो कार्यकालमा निर्माण भएका पर्यटन पूर्वाधारलाई संरक्षण र प्रवद्र्धन गर्दै नयाँ काम अहिलेको जनप्रतिनीधिले गर्न सके सकारात्मक सन्देश जाने धारणा राखे । उनले आफू आवद्ध भएको सहकारी संस्थाले कृषि फोकल पर्सन नै राखेर जनतालाई सेवा दिइरहेको बताउँदै नागरिकको हितमा हुने कार्यक्रमका लागि जहिल्यै सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए ।

जागृति बाल तथा युवा सरोकार केन्द्रका कार्यकारी निर्देशक प्रकाश खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका नारायण अधिकारी, बागेश्वरी माविका प्रधानाध्यापक विरमान स्याङ्तान तथा अन्य पदाअधिकारीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा २५ जनाभन्दा बढि किसानहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी