विश्व उपभोक्ता अधिकार दिवस २०८२ को अवसरमा थाहा नगरपालिका–९ चित्लाङस्थित चित्लाङ रिसोर्टमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम भएको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाको आयोजनामा भएको कार्यक्रमको सह–आयोजक उद्योग तथा वाणिज्य कार्यालय मकवानपुर रहेको थियो ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका थिए । विशिष्ट अतिथिहरूमा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्ट, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा मन्त्री बिन्दु श्रेष्ठले उपभोक्ता अधिकार संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै बजारमा हुने ठगी, कालोबजारी तथा गुणस्तरहीन वस्तुको नियन्त्रणका लागि कडा अनुगमन गरिने बताए । “उपभोक्ता सचेत भए मात्र अधिकार सुनिश्चित हुन्छ, त्यसैले राज्यले नीति तथा कानुन बनाउने मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनेछ,” श्रेष्ठले भने । उपभोक्ताको हितमा काम गर्ने निकायहरूलाई थप सशक्त बनाउँदै सेवा प्रवाहलाई सहज र पारदर्शी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको धारणा रहेको थियो ।

कार्यक्रममा बोल्दै थाहा नगर प्रमुख विष्णु बिष्ट, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी तथा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले उपभोक्ता हित संरक्षणका लागि स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमको उद्देश्यबारे उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालले प्रकाश पार्दै उपभोक्ता अधिकार संरक्षण, बजार अनुगमन सुदृढीकरण तथा सचेतना अभिवृद्धि गर्ने लक्ष्य रहेको बताए । त्यसैगरी राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले उपभोक्ता अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वर्तमान चुनौती र समाधानका उपायहरूबारे जानकारी गराएका थिए । निर्देशनालयका निर्देशक यादवनाथ आचार्यले निर्देशनालयबाट उपभोक्ता अधिकार प्रवद्र्धनका लागि गरिएका गतिविधिहरूबारे प्रस्तुती दिनुहुँदै बजार अनुगमन, जनचेतना कार्यक्रम तथा गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउँदै लगिएको उल्लेख गरे ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक यादवनाथ आचार्य, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसाल, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्