काठमाडौंमा सम्पन्न नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मकवानपुरबाट ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा भारती पाठक, नविन सिग्देल, महेश बर्तौला, एकालाल श्रेष्ठ र रामेश्वर राना रहेका छन् । निर्वाचित पाँचै जना केपी शर्मा ओली प्यानलका उम्मेदवार हुन्।

मकवानपुरबाट केन्द्रीय सदस्य पदका लागि ७ जनाको उम्मेदवारी परेकोमा कृष्ण दाहाल र देवकृष्ण विक पराजित भएका छन् । दुवै उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए । बागमती प्रदेशसभा सदस्य भारती पाठक १ हजार ९१५ मत प्राप्त गर्दै महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

यस्तै, पूर्वसांसद तथा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला १ हजार ५२९ मतसहित खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

त्यसैगरी, नेकपा (एमाले) मकवानपुरका इन्चार्ज रामेश्वर राना १ हजार ४९८ मत प्राप्त गरी बागमती प्रदेश भूगोलतर्फको खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ १ हजार ५०९ मतसहित आदिवासी जनजाति खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देल १ हजार ६१४ मत प्राप्त गर्दै केन्द्रीय लेखा आयोग सदस्यमा निर्वाचित भएका छन् । यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना र भारती पाठक केन्द्रीय सदस्य रहेका थिए ।

पालिका प्रेस
थप जानकारी