नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता नै सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् । पार्टी एकताको सन्दर्भ प्रसंगतर्फ इङ्कित गर्दै राष्ट्रिय एकताको आधारमा मात्र देशलाई समृद्धि र समाजवादको दिशामा अघि बढाउन नेता श्रेष्ठको धाराणा रहेको थियो । नेकपा थाहानगरको विस्तारित एकता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

पालुङ जेसीजको सभाहलमा भएको कार्यक्रममा श्रेष्ठले पार्टी एकता कुनै पद, शक्ति वा तात्कालिक स्वार्थका लागि नभई देश र जनताको हित, राष्ट्रिय स्वाधीनता र समृद्धिको दीर्घकालीन लक्ष्यका लागि गरिएको स्पष्ट पारे । क्रान्तिकारी उद्देश्यकासाथ पार्टी एकता गरिएको बताउँदै त्यसलाई हरहालतमा पूरा गर्ने दृढ संकल्पकासाथ अगाडि बढ्नुपर्ने नेता श्रेष्ठको भनाइ थियो ।

भेलाका प्रमुख अतिथी समेत रहेका नेता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि कुनै पनि प्रकारको खतरा उत्पन्न हुन नदिन सबैभन्दा पहिलो प्राथमिकता राष्ट्रिय एकता आवश्यक रहेको औल्याए । राजनीतिक परिवर्तनका मुख्य चरणहरू सम्पन्न भए पनि शान्ति प्रक्रियाको अभिन्न अंगका रूपमा रहेको संक्रमणकालीन न्याय अझै टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगका कामहरू छिटो सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए । उनले द्वन्द्वपीडितलाई न्याय दिलाउँदै समग्र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु अहिलेको ऐतिहासिक जिम्मेवारी भएको बताए ।

श्रेष्ठले हाल सम्पन्न पार्टी एकतालाई ऐतिहासिक उपलब्धि भएपनि अझै पूर्ण नभएको उल्लेख गरे । समाजवादको दिशातर्फ इमान्दारितापूर्वक अघि बढ्न चाहने अन्य वामपन्थी शक्तिहरू सच्चिएर आए सबैलाई एउटै केन्द्रमा समेट्नुपर्नेमा जोड दिँदै, अहिलेको एकतालाई त्यसैको प्रारम्भिक बिन्दुका रूपमा लिनुपर्ने उनको धारणा रहेको थियो ।

भेलामा नेकपाकी नेता मुनु सिग्देलले संविधान जोगाउन पार्टीले खेलेको भूमिकाको चर्चा गर्दै जेनजी आन्दोलनपछि संविधान नै खारेज हुने अवस्थासम्म पुगेको बेला पार्टी नेतृत्वको पहलमा संविधान जोगिएको बताइन् । उनले संविधान र लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्न पार्टीको योगदानलाई आम जनतामाझ प्रभावकारी रूपमा पु¥याउन कार्यकर्ताहरूलाई आह्वान गरिन् ।

 त्यसैगरी नेकपाका नेता रामनारायण विडारीले पञ्चायतकाल र बहुदलीय शासनकालमा आफू आक्रमणमा नपरेको तर गणतन्त्र स्थापनापछि आक्रमणमा परेको स्मरण गरे । सत्य र सहीको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरे । उनले नेताहरूको कार्यशैलीमा आत्मसमीक्षा र सुधार आवश्यक रहेकोमा विडारीले जोड दिए । नेकपा थाहा नगरका संयोजक बिनोदकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरू कुमारी मोक्तान, ललित घलान, विष्णु बहादुर बिष्ट, लवशेर बिष्ट, सानुकाजी गोपालीलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी